माघे संक्रान्तिमा सार्वजनिक बिदा

सुर्खेत, पुस २७ । कर्णाली प्रदेश सरकारको ३३औँं मन्त्रिपरिषद् बैठकले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कानूनमन्त्री नरेश भण्डारीले भने, “मन्त्रिपरिषद्को ३३औँं बैठकबाट माघ १ गते ‘माघे सङ्क्रान्ति’ मा सार्वजनिक बिदा दिने निर्णय भएको छ ।”

उनले आफ्नै संयोजकत्वमा ३ सदस्यीय सार्वजनिक बिदा निर्धारण सुझाव समिति गठन गरिनाका साथै सुशासन प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश युवा परिषद् गठन गर्न बनेको विधेयक, घरेलु हिंसा नियन्त्रण गर्न बनेको विधेयक र उपभोक्ता हित संरक्षण सम्बन्धी विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरिएको बताए ।

यसैगरी कर्णाली प्रदेश स्वयंसेवक परिचालन कार्यविधि स्वीकृत गरिनाका साथै कनकासुन्दरी गाउँपालिकाको नाम परिवर्तन गर्ने प्रस्तावलाई छलफलका लागि मन्त्रिपरिषद्को राजनीतिक समितिमा पठाइने जानकारी दिँदै उनले आजैबाट कर्णाली प्रदेशलाई कागजबिहिन गराइएको बताए । रासस

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०७५ /Friday, January 11th, 2019, 4:28 pm