वडा सचिव हिरासतमा, वडाध्यक्ष निगरानीमा

काठमाडौं, पुस २७ । कालिकोटको खाडामा पुस ८ गते गाउँ नै सखाप हुनेगरी भएको आगलागीको घटना रहस्यमय बन्दै गएको छ ।

घटनामा संलग्न भएको भन्दै वडा सचिवलाई हिरासतमा राखिएको छ भने वडाध्यक्षलगायत अन्य चारजनामाथि पनि अनुसन्धान थालिएको छ । कोही मानिस नबस्ने झण्डै ४० घरधुरी रहेको खाडामा आगलागीबाट ३२ घर जलेर पूर्णरुपमा नष्ट भएपछि नियोजित रुपमा आगो लगाएको हुन सक्ने आशंका गरिएको छ ।

आगलागी भएका दिन खानेपानी आयोजना ट्यांकीको उदघाटनपछि वडाध्यक्ष मानबहादुर भण्डारी, वडासचिव विष्णुकान्त प्याकुरेलसहितका व्यक्तिहरु त्यही गाउँको एक घरमा बसी मदिरा पार्टी गरेको हुँदा उनीहरुमाथि नै आगो लगाएको आशंका गरिएको छ । प्रहरीले अनुसन्धान जारी राखेको छ । समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०७५ /Friday, January 11th, 2019, 7:02 am