बिहिबार पनि बढ्यो नेप्से, दुई वाणिज्य बैंकद्वारा बोनस प्रस्ताव

काठमाडौं, पुस २६ । साताको अन्तिम कारोबार दिन बिहिबार १ दशमलब ४८ अंकले बढेर हजार १ सय ८० दशमलव ८४ अंकमा पुगेको छ । अघिल्लो दिन बुधबार नेप्से २ दशमलव २९ अंकले बढेर १ हजार १ सय ७९ दशमलव ३६ अंकमा पुगेको थियो ।

यस दिन नेप्से संगै कारोबार रकम पनि बढेको छ । यस दिन १६३ कम्पनीको १३ लाख ८७ हजार ५ सय ९२ कित्ता सेयर कारोबार हुँदा ३६ करोड ६३ लाख २४ हजार १ सय ६४ रुपैयाको कारोबार भएको छ ।

बुधबार कुल १ सय ६६ कम्पनीको १५ लाख १३ हजार ९१२ कित्ता शेयर खरिदबिक्री हुँदा ३४ करोड ७८ लाख ७९ हजार ४६९ रुपैयाँको कारोबार भएको थियो ।

बिहीबार कारोबारमा आएका ११ उपसूचक मिश्रीत देखिएका छन् । जसमध्ये ७ उपसूचक सकारात्मक देखिएको छ भने ४ उप सूचक ऋणात्मक देखिएको छ । बिहीबारको बजारमा सबैभन्दा धेरै निर्जीवन बीमा समूहको सूचक २२ दशमलव १७ अंकले बढेको छ । यस्तै जीवन बीमा ५.९६, माइक्रोफाइनान्स ५.७, ट्रेडिङ्ग २.५३, फाइनान्स २.५२, वाणिज्य बैंक १.५८, अन्य समूहको सुचक १.१९ अंकले बढेका छन् । यस्तै सबैभन्दा धेरै विकास बैंकको सूचक ६.६ अंकले घटेको छ । यस्तै उत्पादन तथा प्रशोधन ५.८२, हाइड्रोपावर २.३५ र होटल्स उप सूचक १.७८ अंकले घटेका छन् ।

बिहीबार नेपाल बैंकको सबैभन्दा धरै रकमको कारोबार भएको छ । बैंकको ११ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । २२ वर्षपछि लाभांश बाँड्न लागेको बैंकले बोनस बाँड्ने आशामा केही दिनयता बैंकको उच्च कारोबार हुँदै आएको छ । यस्तै कुमारी बैंकको १ करोड ८७ लाख, नेपाल लाइफ इन्स्योरेन्सको १ करोड २६ लाख, नेशनल हाइड्रोपावरको १ करोड २० लाख, बैंक अफ काठमाण्डूको १ करोड १४ लाख, एनआइसी एशिया बैंकको १ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएका छन् ।

यस दिन सर्बाधिक कमाउनेमा सानिमा इक्युटि फण्डका लगानीकर्ता रहेका छन् । जसको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ । त्यस्तै यसदिन सर्बाधिक कमाउने अन्य कम्पनीमा सपोर्ट माइक्रो फाइनान्स, जेबिल्स फाइनान्सका लगानीकर्ताले ५ प्रतिशत भन्दा बढीले कमाएका छन् ।

यस दिन सिनर्जी पावर डेभलपमेन्ट, पुर्णिमा बिकास बैंक, साइन रेसुंगा डेभलपमेन्ट बैंकका लगानीकर्ताले २ प्रतिशत भन्दा माथिले गुमाएका छन् ।

दुई वाणिज्य बैंकद्वारा बोनस प्रस्ताव

बिहीबार लक्ष्मी बैंक र कुमारी बैंकले बोनस शेयर प्रस्ताव गरेको छन् ।

लक्ष्मी बैंक लिमिटेडले गत आर्थिक बर्ष २०७४–७५ को कमाईबाट वितरण गर्ने बोनस शेयर घोषणा गरेको छ । बैकको पुस २५ मा बसेको संचालक समितिको २१० औं बैठकले गत आर्थिक बर्षको कमाईबाट सेयरधनीहरुलाई ८ दशमलव ५ प्रतिशत वोनस शेयर प्रस्ताव गरेको हो । त्यसैगरी कर प्रयोजनको लागि ० दशमलव ४५ नगद लाभांशसमेत प्रस्ताव गरको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०। दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । बैंकको हाल चुक्ता पूँजी ८ अर्ब २२ करोड १६ लाख ६७ हजार रुपैयाँ रहेको छ । प्रस्तावित ८ दशमलव ५० प्रतिशत बोनस पश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब ९२ करोड पाँच लाख पुग्नेछ ।

त्यसैगरी कुमारी बैंकले गत आर्थिक बर्ष २०७४–७५ को कमाईबाट वितरण गर्ने बोनस शेयर घोषणा गरेको छ । बैकको पुस २५ मा बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट सेयरधनीहरुलाई ८।५ प्रतिशत वोनस शेयर प्रस्ताव गरेको हो । हाल बैंकको चुक्ता पूँजी ७ अर्ब १६ करोड ३३ लाख ९४ हजा ९७३ रुपैंयाँ रहेको छ । बोनश शेयरको लागि बैंकले ६० करोड ८८ लाख ८८ हजार ५७३ छुट्याइएको छ । उक्त बोनस सेयर वितरणपश्चात् बैंकको चुक्ता पूँजी ७ अर्ब ७७ करोड २२ लाख रुपैयाँ पुग्ने छ। कुमारी बैंकमा काष्ठमण्डप, महाकाली विकास बैंक, काँक्रेबिहार विकास बैंक र पश्चिमान्चल फाइनान्स गाभिएको हुँदा यसमा लाभकर नलाग्ने बैंकले जनाएको छ।

लक्ष्मी र कुमारी बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैङ्कको स्विकृति तथा बैङ्कको आगामी साधारण सभाबाट पारित भएपश्चात् मात्र वितरण गरिनेछ । बोनसका लागि बैंकले बुक क्लोजका लागि पछि अलगै सूचना जारि गर्नेछ । बुक क्लोजको मितिसम्म कायम सेयरधनीहरुले मात्र बैंकको लाभांश पाउनेछन ।

गतआर्थिक वर्षको कमाईबाट लाभांश प्रस्ताव गर्ने बैंकहरुमा लक्ष्मी बैंक, कुमारी बैंक, प्रभु बैंक, प्राइम कमर्सियल बैंक, मेगा बैंक, हिमालयन बैंक, नेपाल एसबिआई बैंक, बैक अफ काठमाण्डू, सिटिजन्स बैंक, जनता बैंक, इन्भेष्टमेण्ट बैंक, ग्लोबल आईएमई बैंक, नबिल बैंक, बंगलादेश बैंक, सनराइज बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंक, सानिमा बैंक, एभरेष्ट बैंक, स्टाण्डर्ड चार्टर्ड, एनआईसी एशिया र सिद्दार्थ बैंकले शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरिसकेका छन ।

प्रकाशित मिति: बिहिबार, पुस २६, २०७५ /Thursday, January 10th, 2019, 3:26 pm