माथिल्लो तामाकोशीको शेयर स्टकमा सूचिकृत

काठमाडौं, पुस २६ । बिहीबार नेपाल स्टक एक्सचेन्जमा माथिल्लो तामाकोशी हाइड्रोपावरको शेयर सूचिकृत भएको छ । स्टकका अनुसार तामाकोशीको १० करोड ५९ लाख साधार शेयरसूचिकृत भएको छ । अब यो शेयर लगानीकर्ताले खरीद विक्री गर्न सक्नेछन् । आरटिएसको कार्य सनराइज क्यापिटल लिमिटेड कमलपोखरीले गर्नेछ । अब यो शेयर सूचिकृतसँगै आइतबारदेखि कारोबार हुनेछ ।

कम्पनीले पहिलो चरणमा कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने कर्मचारी (नेपाल विद्युत् प्राधिकरण र कोषका बाहेक)लाई १ करोड ८२ लाख ९९ हजार ५ सय २० कित्ता, ऋण दिने संस्था कर्मचारी सञ्चय कोषका कर्मचारीलाई ३० लाख ४९ हजार ९ सय २० कित्ता, नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई ४० लाख ६६ हजार ५ सय ६० कित्ता गरी कुल २ करोड ५४ लाख १६ हजार कित्ता शेयर विक्री गरेको थियो ।

यस कम्पनीले दोस्रो चरणमा आयोजना प्रभावित दोलखा जिल्लाका स्थानीयलाई १ करोड ५ लाख ९० हजार र तेस्रो चरणमा सर्वसाधारणका लागि १ करोड ५८ लाख ८५ हजार कित्ता शेयर विक्री गरेको हो । दोस्रो चरणमा स्थानीयलाई साउन १६ देखि भदौ २१ गतेसम्म शेयर जारी गरी कात्तिक १४ गते बाँडफाँट गरेको थियो । स्थानीयलाई बाँडफाँट गरेको भोलिपल्ट कात्तिक १५ देखि १९ गतेसम्म सर्वसाधारणलाई शेयर जारी गरी मङ्सिर ११ गते बाँडफाँट गरको थियो । तीनै चरणमा वितरित शेयर सूचीकरण भए पनि आयोजना प्रभावित स्थानीयले भने आगामी ३ वर्षपछि मात्र कारोबार गर्न पाउनेछन् । स्थानीयका लागि जारी गरिएको शेयरको कुलिङ पिरियड ३ वर्ष रहेको छ ।

आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले स्थानीय बासिन्दाको साथ र सहयोगका कारण यसै वर्षको अन्त्यसम्म आयोजनाको निर्माण सक्ने लक्ष्य रहेको बताए । ८ लाखभन्दा बढी लगानीकर्ता रहेको कम्पनीले आगामी ३ वर्षभित्र लाभांश दिने समेत उनले घोषणा गरेका छन् ।

यस कम्पनीमा नेपाल विद्युत् प्राधिकरण सहित नेपाल टेलिकम, राष्ट्रिय बीमा संस्थान र नागरिक लगानी कोष संस्थापक शेयरधनी रहेका छन् । कम्पनीको निर्माणाधिन ४ सय ५६ मेगावाटको जलविद्युत् आयोजना तामाकोशी नदीमा अवस्थित छ । ६ वर्षे निर्माण अवधि रहेको यस आयोजना निर्माण अवधिको ब्याज सहितको लागत ६९ अर्ब ५९ करोड १९ लाख १२ हजार पुग्ने अनुमान गरिएको छ । यसअघि २०६५ चैत ७ गते सञ्चालक समितिको निर्णय अनुसार आयोजनाको निर्माण अवधिको ब्याज सहितको कुल लागत अनुमान ४८ अर्ब ८६ करोड ४० लाख थियो । भूकम्पले आयोजनाका केही भौतिक संरचनामा समेत क्षति पुगेको थियो । त्यसपछि नयाँ संरचना बनाउनुपर्ने भएकाले लागत बढ्ने अनुमान कम्पनीको छ ।

प्रकाशित मिति: बिहिबार, पुस २६, २०७५ /Thursday, January 10th, 2019, 1:19 pm