सार्वजनिक विदा

काठमाडौं, पुस २६ । कर्णाली प्रदेश र गण्डकी प्रदेशमा माघ संक्रान्तिका दिन सार्वजनिक विदा हुने भएको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सबै जातजाति र वर्ग–समुदायलाई आर्थिक विकासमा केन्द्रित हुन आग्रह गर्दै आगामी माघ १ गते माघी पर्वमा सार्वजनिक बिदाको घोषणा गरेका छ्न । नेपाल मगर सङ्घद्वारा आयोजित पाँचदिने मकर सकराती मेलालाई बुधबार वीरेन्द्रनगरमा सम्बोधन गर्दै उनले अधिकारका नाउँमा आन्दोलन गर्न जरुरी नभएको बताए । आन्दोलनको बलबाट प्राप्त संविधानले नै सबै वर्ग–समुदायको हक अधिकार सुनिश्चित गरेको मुख्यमन्त्री शाहीले दाबी गरे । “अब अधिकारको लडाइँ सकियो, यदि कतै असन्तुष्टि भए शान्तिपूर्ण वार्ताबाटै निकास सम्भव छ”, उनले भने( “आन्दोलन गरेर समय खेर कसैल नफालौँ, सबै आर्थिक विकासतर्फ केन्द्रित हुनु आवश्यक छ ।” मुख्यमन्त्री शाहीले मुलुकमा सुशासन र विकासका लागि सबै जातजाति, भाषा, धर्म, समुदाय एकताबद्ध हुन जरुरी रहेको बताए । सामाजिक विकासमन्त्री दल रावलले मगर बाहुल्य बस्तीका विद्यालयमा भाषा पाठशाला तथा मगर सङ्ग्रहालय स्थापना गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

त्यसैगरी सरकारले माघे सक्रान्तिमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गण्डकी प्रदेश सरकारले तमुहरुको पर्व ह्लोसारको अवसरमा बिदा दिएको प्रदेश सरकारले हिन्दु तथा मगरहरुको विशेष पर्व माघे सक्रान्तिमा पनि बिदा दिने निर्णय गरेको हो । मन्त्रिपरिषदको बुधबार बसेको बैठकले माघ १ मा गण्डकी प्रदेशभरी सार्वजनि बिदा निर्णय गरेको सरकारबा प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए । ‘माघे सक्रान्ति हिन्दु धर्मालम्बी तथा मगरहरुको विशेष पर्व हो,’ प्रवक्ता बस्नेतले भने, ‘आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट बिदा दिन गरिएको प्रस्तावलाई पास गर्ने निर्णय भयो ।’ प्रदेश सरकारले वर्षको ६ दिन बिदा दिन पाउने व्यवस्थाअनुसार बिदा दिन लागिएको यो दोस्रो पटक हो । सरकारले त्यस्ता विशेष अवसरमा बिदा दिँदै जाने प्रवक्ता बस्नेतको भनाइ छ । गण्डकी प्रदेशमै जन्मेर पृथ्वीनारायण शाहको जन्मजयन्तीको दिन २७ गते भने बिदा दिइएको छैन । ल्होसारका अवसरमा पुस १५ मा दिएको प्रदेशको बिदालाई संघ अन्तर्गतका कार्यालयले भने मानेका थिएनन् । प्रदेश सरकारले बिदा दिए पनि संघ अन्तर्गतका कार्यालयमा बिदा हुन केन्द्रको गृह मन्त्रालयको स्विकृति चाहिने भन्दै पुस १५ मा संघ अन्तर्गतका कार्यालय खुलेका थिए ।

प्रकाशित मिति: बिहिबार, पुस २६, २०७५ /Thursday, January 10th, 2019, 8:28 am