स्ववियु चुनाव फागुनमा हुने

काठमाडौं, पुस २३ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको चुनावको तयारी गर्न सम्पूर्ण आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसलाई परिपत्र गरेको छ। विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार सम्पूर्ण क्याम्पसलाई पत्राचार गरेर चुनावको तयारी गर्न अनुरोध गरेको हो।

हाल रहेका स्ववियु पदाधिकारीको आउँदो फागुन १८ गते २ वर्षे कार्यकाल सकिने भन्दै त्रिविले नयाँ चुनावको तयारी गर्न आग्रह गरेको हो । त्रिविले फागुन महिनामा निर्वाचन गर्ने भने पनि मिति भने किटान गरेको छैन ।

त्रिविले यसअघि २०७३ फागुन १८ गते स्ववियु निर्वाचन गरेको थियो । त्रिविमा स्ववियु पदाधिकारी निर्वाचनमा उम्मेद्वार हुन २८ वर्ष उमेरभित्रको विद्यार्थी हुनुपर्ने व्यवस्था छ ।

त्रिवि अन्तर्गत ६० वटा आंगिक तथा एक हजारभन्दा बढी सम्बन्धन प्राप्त क्याम्पस छन्।

प्रकाशित मिति: सोमवार, पुस २३, २०७५ /Monday, January 7th, 2019, 6:16 pm