यसरी मनाइयो टोपी दिवस

काठमाडौँ, पुस १७ । ‘नेपाली टोपीः हाम्रो गौरब, हाम्रो पहिचान’ भन्ने नाराका जागरुक युवा अभियान नेपालले छैटौँ नेपाली टोपी दिवस भव्यरुपमा मनाएको छ । अङ्ग्रेजी नयाँ वर्षको दिन मंगलबार माइतीघरमण्डलामा भेला भएर युवायुवतीले गत वर्षजस्तै ‘टोपी दिवस’ मनाएका हुन् ।

माइतीघरमण्डलमा भेला भएको युवायुवतीले पञ्चेबाजासहित मण्डलादेखि नयाँबानेश्वरसम्म प्रभातफेरि गरेका थिए । अङ्ग्रेजी नयाँ वर्ष मनाउने प्रचलन बढिरहेको अभियानले नेपाली मौलिक पोशाक संरक्षणको अभियानका लागि ‘टोपी दिवस’ मनाउन शुरु गरेका हुन् ।

सदियौँदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यूचोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचीबाट हटाएपछि अभियानले नेपाली टोपी (ढाका टोपी, भाद्गाउँले टोपी) लाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गरियोस् भन्ने मागसहित नेपाली टोपी दिवस मनाउँदै आएको छ ।

राष्ट्रिय पोशाक दौरा सुरुवाल र ढाका टोपीमा सजिएका सहभागीले ढाका टोपीलाई पहिचान दिन माग गर्दै राष्ट्रिय पोसाकको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए । र

शताब्दीऔँदेखि प्रयोग भइरहेका विभिन्न प्रकारका नेपाली टोपीको प्रयोगलाई अझै व्यापक र विश्वमय बनाउने उद्देश्यले सन् २०१४ जनवरी १ देखि संसारभर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै आएको छ ।

प्रकाशित मिति: मङ्लबार, पुस १७, २०७५ /Tuesday, January 1st, 2019, 11:46 am