दुई खेल अघि नै मनाङ बन्यो आठौं पटक लिग च्याम्पियन

काठमाडौं, पुस १२ । मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जितेको छ। ललितपुरको सातदोबोटोस्थित एन्फा कम्प्लेक्समा जारी लिगको २ खेल बाँकी छदै मनाङ आठौं पटक च्याम्पियन बनेको हो । यसअघि मनाङले २०४३, २०४४, २०४६, २०५७, २०६०, २०६२ र २०७० सालमा भएको लिगको उपाधि जितेको थियो ।

लिगको निर्णायक मानिएको खेलमा शीर्ष स्थानको मनाङले दोस्रो स्थानको संकटा क्लबलाई ३–१ गोलले हराउँदै उपाधि जितेको हो।

मनाङले प्रतियोगिताका सबै खेलमा जित हात पारेको छ। उसले ११ खेलबाट ३३ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको संकटा क्लबको ११ खेलबाट केवल २५ अंक छ। प्रतियोगितामा १४ टोली सहभागी छन् भने हरेक टोलीले १३ खेल खेल्छन्।

मनाङ राष्ट्रिय टोलीका कप्तान समेत रहेका विराज महर्जनको नेतृत्वमा थियो। टोलीका अन्य सदस्यहरुमा हेमन गुरुङ, सुजल श्रेष्ठ, विशाल राई, कमल श्रेष्ठ लगायत राष्ट्रिय टोलीका सदस्य थिए। मनाङका गोलपोष्ट विशाल श्रेष्ठले सम्हालेका थिए।

प्रकाशित मिति: बिहिबार, पुस १२, २०७५ /Thursday, December 27th, 2018, 4:42 pm