पुस १५ देखि नेपालमा इन्टरनेटको शुल्क बढाउने सेवा प्रदायकको चेतावनी, कतिले बढ्छ त ?

काठमाडौं, पुस ९ । नेपालमा इन्टरनेट सेवाको मूल्य फेरी बढ्ने भएको छ । सरकारले सम्झौता कार्यान्वयन नगरेको भन्दै इन्टरनेट सेवा प्रदायकले सेवा शुल्क बढाउने चेतावनी दिएका छन् ।

सम्झौता भएको ५ महिनासम्म पनि सरकारले सम्झौता कार्यान्वयन नगरेको भन्दै इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन अफ नेपाल (आइस्पान) ले एक विज्ञप्ति जारि गरि पुस १५ गतेदेखि शुल्क बढाउने चेतावनी दिएको हो ।

‘उक्त सम्झौता भएको ५ महिना व्यतित भैसक्दा पनि तहा र तहा अन्तरगर्तको नेपाल दूरसंचार प्राधिकरणलाई उक्त सम्झौता कार्यान्वयनको लागि पटक पटक अनुरोध गर्दा समेत कुनै निकास नआएको हुँदा यस इन्टरनेट सेवा प्रदायक संस्थाको आकस्मिक बैठक बसी यहि मिति २०७५ पुस १५ गतेबाट लागू हुने गरि १३ प्रतिशत अतिरिक्त दूरसंचार सेवा शुल्क लिने निर्णय गरेको हुँदा सोको जानकारी गर्दछौं,’– विज्ञप्तिमा उल्लेख छ । ।

सरकारले ०७५/७६ को बजेटमा इन्टरनेटमा १३ प्रतिशत अतिरिक्त दूरसंचार सेवा शुल्क (टिएससी) लगाउने नीति ल्याएपछि इन्टरनेट सेवा प्रदायकहरुले आफ्नो सेवा शुल्क बढाउने बताएका थिए ।

सेवा प्रदायकहरुले सरकारले लगाउने अतिरिक्त कर ग्राहकबाटै असुल्ने भन्दै साउन १ गतेदेखि नै मूल्य बढाउने घोषणा गरेका थिए । तर, सरकारले सेवा प्रदायकहरुलाई बोलाएर मूल्य नबढाउन भन्दै इन्टरनेटको मूल्य समायोजन गर्ने सहमति गरेको थियो ।

अब यदि सरकारले उक्त सम्झौता कार्यन्वयन गर्न नलागे ग्राहकले विद्यमान मूल्यमा थप १३ प्रतिशत अतिरिक्त मूल्य तिर्नुपर्ने भएको छ ।

प्रकाशित मिति: सोमवार, पुस ९, २०७५ /Monday, December 24th, 2018, 7:34 am