विश्व बाल दिवस र तरुल देश नेपाल

जगन्नाथ कँडेल/म सामाजिक शिक्षा पढाउँँछु । यो विषय पढाउने मित्रहरुलाई सहजै थाहा भएको कुरा हो । यस देशलाई दुर्इ ढुङ्गा बिचको तरुल भनेर पढाउनु पर्ने हुन्छ, नेपाली इतिहासको स्मरण गर्दा । यसो भन्दैमा नेपाली विषयका मित्रहरु अनि अन्य नेपालीलाई यो कुरा थाहा छैन भन्न खोजेको चाहिं पक्कै होईन । नेपाललाई दुर्इ ढुङ्गा बिचको तरुल भन्ने गरिन्छ । शायद यो शाब्दिक रूपमा प्रयोगमा आउँदा यसको तार्किक र भावनात्मक अर्थ पनि ब्याख्या भएको नै थियो होला । अहिले पनि नेपाल हुन त दुर्इ देश बिचमा नै छ तर तरुलकै रूपमा मात्र यो देश रही रह्यो भने चाही सायदै यो देशको प्रगती होला ? हुन त तरुलको आफ्नै महत्व छ, पर्वसँग जोडिएको र कहिले काही रोग लागेपछि शरिरको धर्मसँग जोडिएको हुनाले पनि यसलाई महत्व दिनु जरुरी हुन्छ । देशको अवस्था र समसामयिक गतिविधी हेर्दा यो देश तरुलको रूपमा मात्र रहन गयो भने चाहि हामीले आउने पिढिंलाई पनि बचपनमा जे सिक्यौं त्यती मात्र सिकाउन सक्ने हुनेछौं ।

यस दुर्इ देश विचको तरुललाई भौगोलिक रूपमा सजिलै वास्तबमा परिवर्तन पनि त गर्न सकिन्न । परिवर्तन भन्नाले यस देशलाई स्थान्तरण भन्न खोजिएको हो । स्थान परिवर्तन गर्न नसके पनि हामी हाम्रो सुन्दर देशलाई अगाडि बढाउने तरिका त सोच्न सक्छौं । सोचलाई व्यबहारमा उतार्न त सकिन्छ । यस्तो कुरा विद्यार्थीहरुसँग गर्दा उनीहरु भन्ने गर्छन । हामी कतै ठगिएका मान्छे झैं भएका त छैनौं ? हाम्रो जन्मनै भौगोलिक अवस्थाले गर्दा सारै अप्ठ्यारौं भएको महसुस गर्ने विद्यार्थी र भविष्य सुनिश्चित गर्न विदेश यात्रा नै एक मात्र उपाय खोज्ने विद्यार्थीको गुनासा, आशा र भरोशा पनि बढ्दैछ । यस्तो अवस्थामा हामी एकपटक फेरी विश्व बाल दिवस मनाउँँदैछौं ।

संयुक्त राष्ट्र युनिभर्सल बालबालिका दिवस १९५४ मा स्थापित गरिएको थियो । अन्तर्राष्ट्रिय एकता, विश्वभरका बालबालिकाहरुलाई जागरूकता र बालबालिकालाई कल्याणमा सुधार गर्न हरेक बर्ष नोभेम्बर २० तारिखमा यो दिवस मनाउने गरिन्छ । यो दिवस बालबालिकाको अधिकारको घोषणा भएको सन्दर्भमा मनाउने गरिन्छ । यस दिनलाई बालबालिकाको अधिकारको जिनेभा घोषणाको रूपमा पनि जान्ने गरिन्छ । यस घोषणालाई बालबालिकाको अधिकारलाई प्रवर्द्धन गर्ने अन्तर्राष्ट्रिय दस्तावेजको रूपमा पनि लिइन्छ ।

इगलान्ते जेबद्वारा प्रतिपादित छोटो तर सान्दर्भिक यस दस्तावेज वास्तबमा बालबालिकाको अधिकारको सुनिश्चितताको लागि थियो । जेब ब्रिटिश सामाजिक सुधारकर्ता र ‘सेभ द चिल्ड्रेन्’ को संस्थापक थिए ।

यसलाई लिग अफ नेसन्सद्वारा १९२४ तिर सर्वमान्यता दिइएको थियो । १८ वर्ष भन्दा कम उमेरका बाबुनानीहरुलाई रास्ट्र संघले बालबालिका घोषणा गरेको छ भने उक्त उमेर समुह भित्रका लागि हरेक राज्यले सुरक्षा, सुव्यवस्था र सुसंहारको जिम्मा लिनु अनिवार्य गरेको छ ।

यस्तो व्यवस्था कायम भएको हुनाले अनि नेपाल आफै राष्ट्र संघको बाल अधिकारको महासन्धिमा हस्ताक्षर गर्ने राष्ट्रको हैसियतले बाल अधिकारको मामिलामा नेपाल कत्तिको कार्य गरिरहोको छ त भन्ने चुनौती यस राष्ट्रलाई हुनेछ । संसारभरी धूमधामका साथ मनाउने यस बाल दिवस पर्वलाई नेपालले कसरी मनाउंदै छ भन्ने अहम् प्रश्न त हाम्रो सामु छ नै । बाल दिवसको दिनमा यस दिवसलाई मनाउनु एउटा सांकेतिक प्रतिक त हुन्छ नै तर बाल अधिकारको सम्पूर्ण सुरक्षाको साथ हरेक बालबालिकको सम्पुर्ण चौतर्फी विकासमा ध्यान नदिएसम्म एक दिनको दिवसले सार्थकता पाउने कुरामा विश्वास गर्न मुश्किल नै पर्छ । अझ त्यसमाथि आफ्नै देशमा केहि पनि गर्न सकिन्न भन्ने युवा तथा सक्षम नेतृत्व वर्गको विदेश मोहले पनि आउने पिढिलाई कस्तो मार्ग निर्देशन गर्न सक्छ भन्ने कुरा एक सम्वेदशिल विषय छदैछ ।

यस्ता आर्थिक रूपले सबल भारत र चीन जस्तो शक्तिशाली राष्ट्र हाम्रो माटो छोएको छिमेकी हुनु हाम्रो लागि चुनौतिका साथसाथै ठुलो अवसर पनि त हो । दुर्भाग्य न त यतिखेर हामीले कल्पना गरेको जस्तो दक्षिण र उत्तर राष्ट्र लाभ लिन सकेका छौं, न उत्साहजनक रूपमा कुनै सहयोग । यी दुइ शक्तिशाली राष्ट्र पाठ पनि हामीले सिकेका छैनौं । पाएको सहयोग पनि कतै दुरुपायोग नै भएको पो छ कि ? त्यसैले विद्यार्थीहरुले प्रस्तुत गर्ने गरेका चिन्ता जायज नै देखिन आउँछ । अनि फेरी म नतमस्तक हुन्छु जब यी अवोध मस्तिष्कले तरुल हुनु र अब कहिल्यै माथि उठ्न नसक्ने जिकिर गर्छन । यस्तो सन्दर्भमा हामी एक पटक फेरी विश्व बाल दिवस मनाउने क्रममा छौ र यसै सन्दर्भमा यसको सार्थकताको बारेमा सोचनिय बनाउँछ ।

विकसित मुलुकका विद्यार्थीहरु सानै उमेरदेखि आत्मविश्वास, निडर तथा अग्रगामी देखिन्छन् भने मैले पढाउने विद्यार्थीहरुमा विकासप्रतिको चिन्तन भन्दा पनि विदेशी तौरतरिकाको अन्धानुकरण मात्र भएको जस्तो देखिन्छ । हुन त बालपनमा विद्यार्थीले रमाइलोसँग जीवन व्यातित गर्न पाउनु पर्छ तर हाम्रो मुलुकका विद्यार्थीले न त रमाइलोसँग जिन्दगी नै बिताइरहेका छन् । न त आत्म विशवस बढ्ने तरिकाले पढ्न नै पाएका छन् । यसो भन्दैमा प्रयास नै नभएको भन्न खोजेको होईन । धेरै बाल मैत्री पठनपाठन हुने शिक्षालय, विद्यालय, केन्द्रालय खुलेका छन् । तत्पश्चात् पनि हाम्रो नयाँ कर्णाधारहरुमा चिन्तन र चेतनाको कमी खड्किन्छ ।

मैले यसो लेखिरहँदा मलाई हाम्रोभन्दा पनि आर्थिक रूपले, शैक्षिक रूपले, साँस्कृति करूपले र राजनैतिक रूपले ध्वस्त मुलुकका बालबालिकाहरुको अवस्थाको पनि याद आउँछ । यतिखेर मैले यो लेख लेखिरहंदा वा तपाईंहरुले पढिरहंदा कति देशका बालबालिका अनाथ्, टुहुरा र मृत्यु नै भैरहेका पनि हुन सक्छन् । ति सबै बालबालिका प्रति मेरो र हामी सबै नेपालीको गहिरो समवेदना छ । वास्तवमा सारा विश्वका बालबालिका हामी सबैका बालबालिका हुन् । दुर्भाग्य ‘वसुधैव कुटुम्बकम्’ को पाठ दिनहुँ पढाउने हाम्रा गुरुदेवहरु नै गहिरो नातावाद र कृपावादमा अल्झिएका छन् । ‘मेरो–मलाई अनि मेरो परिवारको’ मात्र भन्न चाहने धार्मिक, सामजिक, राजनैतिक अगुवाहरु देख्दा मलाई लाग्छ बालबालिकाहरुले कतै यही चिन्तनले पो आफ्नो भविष्य सोच्ने र कोर्ने पो हुन् कि जसले गर्दा आउने सन्ततिले पनि बाटो बिराउलान् जस्तो लाग्छ । मेरो सोच झुटो होस तर भुल्न नहुने कुरा के हो भने कहिले काहिं विगतले आगतको मार्गनिर्देशन गर्छ । अनि त्यही मार्गले भविष्यको मार्ग प्रदान गर्छ ।

यति कुरा लेख्दै गर्दा विभिन्न संचार माध्यमबाट प्रसारण हुने धार्मिक गुरुहरुको शारीरिक अतृप्तता, अनाथ बालबालिका संचालन गर्ने गुरुहरुको बाल शोषण, बाल मैत्री नामक संस्थाहरुबाट बालश्रम आदिका समाचार सुन्नु पर्ने पक्कै पनि बालबालिका विकास संस्था चलाउने वा बालबालिकाको ठेक्का लिएकाहरु प्रति ठाडो चुनौती हो भने हामी सबै जनाको चासो, चिन्तन र खबरदारी गर्नु पर्ने कुरा हो । कस्तो दुर्भाग्य विभिन्न चांड पर्वमा हामस् बालबालिकाको पुजन गर्छौं , जीवित देवीको रूपमा कुमारी पुजा गर्छौं, हामी बिमिरोको पुजा गर्छौं, सभा समारोहको उद्घाटनमा पन्चकन्या अगाडी लगाउछौं, अनि त्यहि बालबालिकाको चौतर्फी विकास चाही हामी गर्न चाहन्नौं। अझ गहिरिएर हेर्ने हो भने नौ दिनसम्म देवीको विभिन्न स्वरूपको पुजा अर्चना गरेर दशौं दिनलाई विजया दशमीको रूपमा पनि मनाउन हामी तयार हुन्छौं। अनि फेरी मानसिक आतंक मचाउने यौनजन्य हिंसात्मक गतिविधि सुन्दा समाज कतातिर लम्कदै छ भने अहम् प्रश्न हामी सभ्य मानव समाजको लागि सोचनीय बन्न पुग्दछ।

यतिका धेरै विमति, बेमेल र बेमौसमी कुराहरुले जरा गाड्दै गर्दा केही राहत र आहतका आश गर्ने संस्था, कार्यक्रम र व्यक्तिहरु पनि नभएका हैनन् । आज विभिन्न देशमा बालबालिकाको बृहत्तर हितको लागि झाँकी, कार्यक्रम, मनोरंजन, चित्रकला, वतृत्वकला जस्ता कैयौं कार्यहरु पनि हुने गर्छन । यस्ता कार्यहरुका साथसाथै अहिले बालबालिकाहरुलाई विभिन्न ज्ञानबर्द्धक तथा बौद्धिक कार्यमा लगाउनु पनि उत्तिकै महत्वपूर्ण हुन आउँछ । वास्तबमा शारीरिक, मानसिक र बौद्धिक उन्नतिको लागि हामीले बालबालिकालाई मार्ग प्रशस्ति गर्न सक्नु पर्दछ।

बाल मस्तिस्क उर्वरभू्रमि हो, यस उर्वरतामा हामीले जस्तो बिज रोपण गर्छौ त्यस्तै फसल उब्जनी हुन्छ । यस्तो उर्वरताको सहि सदुपयोग परिवार, समाज राष्ट्र र विश्वले लिन सक्छ। अनि साँच्चिकै सुन्दर समाजको परिकल्पना गर्ने हो भने बालबालिकाका क्षेत्रमा कार्य गर्ने सरकारी तथा गैरसरकारी संस्था तथा सम्पूर्ण जिम्मेवार निकायले राष्ट्रिय चाहना अनुरुपको शिक्षा प्रदान गर्नु जरुरि देखिञ्छ। सर्वप्रथमतः नेपाली राजनीतिले स्थायित्व प्राप्त गरोस भन्ने चाहना हामी सबैको छ र त्यसप्रति नेपाली राजनीतिकर्मी सचेत रहनु जरुरि छ।

सरकारी र गैरसरकारी क्षेत्रबाट नेपाललाई चाहिने मानव शंसाधन यहि बालबालिका हुन् भन्ने कुरा हेक्का राख्दै छोटा, मध्यम र लामा शैक्षिक योजना बनाउनु जरुरि देखिन्छ । साथसाथै यहि शैक्षिक योजनाको माध्यमबाट नेपालको दुरगामी विकासको परियोजना बन्न सक्छ भन्ने कुरामा दुर्इमत रहन्न। वास्तबमा नेपालले शैक्षिक उन्नतिबाट नेपालको भविष्य निर्धारण गर्ने कार्य गर्न सक्नु पर्दछ । यसको लागि स्वदेशमै योजनाबद्ध रूपमा नेपाललाई चाहिएको मानव स्रोत उत्पादन कार्यमा लाग्न सरकारी पक्ष र गैरसरकारी पक्ष दुवै मिलेर गुणस्तरीय शिक्षा, शिक्षक र शिक्षण पद्धती अपनाउनु टड्कारो आवश्यकता भैसकेको छ। हैन भने हजारौं जनसंख्या शिक्षाकै लागि भनेर विदेशिने संख्या घट्ने छैन।

विदेशिने विद्यार्थी संख्यात्मक रूपमा मात्र होइन गुणात्मक रूपमा पनि धेरै भएकाले फलको गुदी जति हामीले अन्य देशमा लगानी गर्ने छौ अनि स्वदेशमा चाही केहि गुदी तर धेरै बोक्राको जमात खडा गर्ने छौं। येस्तै गन्थनको विचमा हामि एकपटक फेरी विश्व बाल दिवस मनाउदै छौं।

तरूलकै रूपमा रहे ता पनि छिमेकी दुर्इ ढुंगाको चुनौती सामना गर्ने स्वाभिमानी विधार्थीको आवश्यकता परिसकेको छ। तरुल भैकन पनि बदलिदो विश्व परिवेशमा शैक्षिक, भौतिक, आर्थिक र आध्यात्मिक प्रगति नभए हाम्रो बाल दिवसले खासै केही पनि महत्त्व नराख्ला । केही बाल संस्थाको नाममा वास्तबमै व्यापार गर्ने संस्थालाई यस दिनको महत्त्व होला तर आउने पिढीले यहि अवस्थामा यस दिनको न त महत्व थाहा पाउने छन् न नै यस देशको। त्यसर्थमा विश्व बाल दिवशको हामी सार्थकता खोजौ अनि त्यस सार्थकतामा हामी हाम्रो उन्नति, समाजको प्रगति र देशको विकास गर्दै रॊग, भोक र शोकबाट देशलाई मुक्त गर्ने कार्य गरौं ।
(लेखक ‘शान्ति, विकास, सुरक्षा र अन्तर्रास्ट्रिय द्वन्द परिवर्तन विषयमा स्नातकोत्तर युनिभर्सिटी अफ इन्न्स्ब्रुकबाट गर्दै)

प्रकाशित मिति: बुधबार, पुस ४, २०७५ /Wednesday, December 19th, 2018, 5:13 pm