ढोका खोल मंगली

भावकेशर बराल

ढोका खोल न मंगली ढोका खोल ।

बाहिर केको खलबल सुनिदै छ हँ ?
गाउँमै सिंहदरबार आउँछ भन्थे
गाँठे ! आयो कि क्या हो !
बाहिर केको चहलपहल देखिँदै छ हँ ?
गाउँमै सरकार बन्छ भन्थे
गाँठे ! बन्यो कि क्या हो !
ढोका खोल न मंगली ढोका खोल ।

कति हिउँद बिते कुन्नि पण्डितबा दरबार छिरेपछि
खै उतै छन् अथवा अन्तै घरबार जोडे ?
अब कसले हेरिदिन्छ साइत
कसले गरिदिन्छ बाको सराद
अनि कसले मन्साउँछ जोखनामा चामल ?
ढोका खोल न मंगली ढोका खोल
भव्य दरबार लिएर आइपुगे कि पण्डितबा !

गलाभरि मालाले सजिएर
गालामा रातो सिंदुर दलेपछि
गाउँबाट बिदा भएका धनकाजी
सिंहदरबारको कुद्ने कुर्सीमा बस्छन् अरे
अचेल गाउँ फर्कन पनि छाडे हगि !
सहरमा ठूलो दरबार हाले भन्छन्
गाँठे ! गाउँको बाटै बिर्सेछन् कि क्या हो
आक्कलझुक्कल उतैबाट फुन गर्छन् अरे
यताको टारी र घरबारी मेरै हो भन्छ जुठे
ढोका खोल न मंगली ढोका खोल
सिंहदरबार लिएर दैलामै आइपुगे कि धनकाजी !

मेलो छाडेर मध्याह्नमै दुगुरेको हर्के
दरबार हान्छु भन्थ्यो
कतिवटा दरबार हान्यो कुन्नि
परारै चौतारामा फोटामाथि फूल छर्थे मंगली
वीर…महान्…सइद… केके पो भन्थे मान्छेहरू
अरू सबै फर्किँदा उसले किन गाउँ नसम्झिएको होला ?
ढोका खोल न मंगली ढोका खोल
कतै हानेको दरबार बोकेर टुप्लुक्क आयो कि हर्के !

चुनावमा मासुभात बाँड्दा
चूलामा आगाको पाइप आउँछ भन्थे
उ: त्यहीँ पाखाबाट रेल कुद्छ भन्थे
खोलाको तुइन काट्दा
पानीमाथि जहाज बग्छ भन्थे
आटीमा टुकी निभ्दा
बस्ती नै झलमल बल्छ भन्थे
हुरीले छानू फाल्दा
गाउँमै महल बन्छन् भन्थे,
सहरमा बाटो आफैँ हिँड्न थाले रे मंगली
दरबारका राजा पाखातिर
र, पाखाका राउटे दरबारतिर छिरे अरे !
ढोका खोल न मंगली ढोका खोल
कतै ढाकरमा
चल्ने बाटो, बल्ने चूलो, बग्ने जहाज र सुन्दर महल बोकेर
गाउँमै आइपुग्यो कि सिंहदरबार
अथवा गाउँमै बन्यो कि सरकार !

ढोका खोल न मंगली ढोका खोल ।

प्रकाशित मिति: मङ्लबार, पुस ३, २०७५ /Tuesday, December 18th, 2018, 9:44 am