राप्रपाको प्रदेश सम्मेलनको तयारी पूरा

हेटौँडा, मङ्सिर २२ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को हेटौँडामा हुने प्रदेश नं ३ स्तरीय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ ।

सो पार्टीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा यही मङ्सिर २४ गतेदेखि हुने सो सम्मेलनमा हिन्दूत्वको विषयलाई मुख्यरुपमा उठाइने बताइएको छ ।

राप्रपा प्रदेश नं। ३ समितिका उपाध्यक्ष एवं मूल कार्यक्रम आयोजक समितिका संयोजक मधु अधिकारीले भेलामा प्रदेश नं ३ का ३४० जना नेताकार्यकर्ता सहभागी हुने जानकारी दिनुभयो ।

सम्मेलनमा १३ जिल्लाका अध्यक्ष, प्रदेश नं ३ बाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने ७४ केन्द्रीय सदस्य, जिल्ला सचिव, क्षेत्रीय अध्यक्ष, महानगर, उपमहानगर एवं गाउँपालिकाका अध्यक्षलगायत ३४० जनाको सहभागिता रहने उहाँले जानकारी दिनुभयो ।

राप्रपाले फागुन ७ गतेदेखि हिन्दूत्वका लागि शुरु गर्न लागेको आन्दोलनको तयारीकारुपमा समेत भेला गर्न लागिएको बताइएको छ । भेलामा राप्रपाको भावी रणनीति, अन्य पार्टीसँगको एकताको विषयमा समेत छलफल हुने अध्यक्ष अधिकारीको भनाइ छ । रासस

प्रकाशित मिति: शनिबार, मंसिर २२, २०७५ /Saturday, December 8th, 2018, 8:54 pm