मङ्सिर २९ गते नेकपा स्थायी समिति बैठक बस्ने

काठमाडौँ, मङ्सिर २२ । नेपाल कम्युनिस्ट पार्टी (ने क पा) ले यही मङ्सिर २९ गते स्थायी समितिको बैठक आह्वान गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालयको बैठकले पार्टी कार्यालय धूम्रराहीमा १ बजे स्थायी समितिको बैठक बोलाउने निर्णय गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए ।

यस्तै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, नेता झलनाथ खनाल, वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले समयमा बैठक प्रारम्भ नभएको भन्दै बैठकस्थलबाट बाहिरिएका थिए । बैठक दिउँसो ३ बजेका लागि बोलाइएको थियो ।

बैठकको तयारीका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिउँसो २ बजेदेखि नै आवश्यक परामर्शमा रहेका थिए ।

महासचिव पौडेलका अनुसार अध्यक्षद्वय परामर्शमा रहँदा केही मिनेट मात्रै सचिवालयको बैठक ढिलो हुन गएको हो । यही मङ्सिर १२ गतेको सचिवलाय बैठकले पार्टीको प्रदेश कमिटीमा रहने सदस्यको नामावली टुङ्गो लगाएको थियो ।

शनिबारको बैठकमा पार्टी एकीकरणका बाँकी कामलगायतका विषयमा छलफल गर्ने कार्यसूची रहेको थियो ।

४५ सदस्यीय स्थायी समितिको बैठक यसअघि भदौ ८ र ९, भदौ १९ र २०, भदौ २६ र २७, कात्तिक ४ र ५ तथा कात्तिक १२ र १३ का लागि बोलाइए पनि स्थगित हुँदै आएको थियो। पार्टीभित्र बैठक बोलाउनुपर्ने माग हुँदै आएको थियो।

सचिवालयले गरेका पछिल्ला निर्णय जानकारी गराउने, पार्टी र सरकारको काम कारवाहीको समीक्षाका लागि उक्त बैठक बस्न लागेको हो ।

प्रकाशित मिति: शनिबार, मंसिर २२, २०७५ /Saturday, December 8th, 2018, 8:26 pm