फरक छिन् शृङ्खला

अहिले सान्या, चीनमा भइरहेको मिस वर्ल्डको ६८औँ संस्करणमा सहभागी नेपाली सुन्दरी शृङ्खला खतिवडा हालसम्म सहभागी नेपाली सुन्दरीका दाँजोमा बढी सफल देखिएकी छन् ।

यस अर्थमा अध्ययन तथा पेसाले आर्किटेक्ट इन्जिनियर शृङ्खला अन्य नेपाली सुन्दरीभन्दा फरक पनि देखिएकी छन् कि मिस नेपालकै इतिहासमा उनले जारी मिस वल्र्ड प्रतियोगितामा विभिन्न देशका सुन्दरीलाई पछि पार्दै व्युटी विथ ए पर्पोज तथा मल्टिमिडिया अवार्ड जित्न सफल भएकी छन् ।

मल्टिमिडिया विधामा उनले जापान, रूस, केन्या, मेक्सिकोजस्ता धेरै देशका सुन्दरीलाई पछाडि पारेकी थिइन् । यस्तै डिसेम्बर ३ तारिख अर्थात् यही सोमबारकै साँझ आयोजित मिस वल्र्डको अर्को विधा व्युटी विथ ए पर्पोजका लागि सिङ्गापुर, जापान, इटाली, रूसलगायत दर्जनौँ मुलुकका सुन्दरीहरूका दाँजोमा उनको प्रस्तुति अब्बल भएकै कारण उनी यस विधाको विजेताको हकदार भइन् ।

यिनै विधाका विजेताका रूपमा शृङ्खला मिस वल्र्डको टप ३० मा स्थान बनाउन सफल भइन् । व्युटी विथ ए पर्पोजका लागि उनले आफ्नो गृहजिल्ला मकवानपुरका चेपाङ जातिका स्वास्थ्यस्थिति र स्वास्थ्य केन्द्रबारे वृत्तचित्र प्रस्तुत गरेकी थिइन् ।

यसबाहेक सान्या टुरिजम प्रोमोसनल भिडियो अवार्डमा दोस्रो उपविजेता भएकी शृङ्खला ११८ देशका सुन्दरीमाझ भएको टप मोडल विधामा शीर्ष ३२ मा पर्न सफल भइन् । जारी मिस वल्र्डमा समावेश आठ विधाअन्तर्गत शृङ्खला नै त्यस्ती एकमात्र प्रतियोगी हुन्, जसले दुई विधामा विजय तथा एकमा दोस्रो उपविजेता तथा अर्को विधामा पनि राम्रो स्थान हासिल गर्न सफल भएकी छन् । यस दृष्टिकोणबाट मूल्याङ्कन गरिँदा सन् २०१८ को मिस वल्र्ड प्रतियोगिता नेपालका लागि विशेष उल्लेखनीय रहेको मान्न सकिन्छ ।

अहिलेसम्म नेपाली सुन्दरीहरूमा अनुभव, शैक्षिक अवस्था, मुलुकको अवस्थाजस्ता विविध कारणले विश्व सुन्दरी रङ्गमञ्चमा लघुताभास अनुभव गर्दथे, यसलाई मेट्ने काम शृङ्खलाले गरिदिएकी छन् । यसबाट आउँदा दिनहरूमा यस्ता रङ्गमञ्चहरूमा नेपाली सुन्दरीहरूको आत्मविश्वास तथा हौसलामा निकै नै अभिवृद्धि हुने निश्चित छ ।

उनीहरूमा हामी पनि विश्वका कुनै पनि देशका सुन्दरीको दाँजोमा कुनै पनि कुरामा कम छैनौँ भन्ने विश्वास जगाउन शृङ्खलाको यो विधागत विजयले निकै महŒवपूर्ण भूमिका खेल्नेछ । राजनीतिक पृष्ठभूमि भएको परिवारकी चेली शृङ्खलाको भावी लक्ष्य पनि ठूलै छ, बाबुआमाको बिँडो थाम्दै मुलुककै पहिलो महिला प्रधानमन्त्री बन्ने उनको सपना तथा लक्ष्य छ ।

प्रतिनिधिसभाका सदस्य विरोध खतिवडा तथा प्रदेश नम्बर ३ को प्रदेशसभाका सदस्य मुनु सिग्देल खतिवडाकी सुपुत्री शृङ्खलाको यो लक्ष्यबारे भविष्यले बताउनेछ तर मिस वल्र्डको उपाधि हात पार्न पनि उनको तयारी कम छैन भन्ने तथ्य उनको मिहिनेत तथा आठमध्ये तीन विधामा अब्बल हुनुलाई मान्न सकिन्छ । आशा र कामना गरौँ शृङ्खला यसपटकको विश्व सुन्दरी प्रतियोगितामा निकै राम्रो नतिजा ल्याउन पक्कै पनि सफल हुनेछिन् ।

प्रकाशित मिति: शनिबार, मंसिर २२, २०७५ /Saturday, December 8th, 2018, 8:30 am