मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

काठमाडौ, मङ्सिर २० । मंसिर १७ गते बसेको मन्त्रिपरिषद् बैठकले महत्वपुर्ण निर्णय गरेको छ। सरकारले महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरलाई संग्रहालय बनाउने निर्णय गरेको छ । मंसिर १७ गते बसेको मन्त्रिपरिषद् बैठकले महाकवि देवकोटाको घरलाई संग्रहालय बनाउने निर्णय गरेको हो ।

बिहीबार सूचना तथा सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकार प्रवक्ता सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले यसको जानकारी दिएका हुन् ।

गत लक्ष्मीप्रसाद जन्म जयन्तिका दिन प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले महाकवि देवकोटाको घरलाई संग्रहालय बनाउने घोषणा गरेका थिए ।

मैतिदेवीस्थित महाकवि देवकोटाको जीर्ण घरलाई संग्रहालय बनाउने तयारीमा सरकार रहेको छ ।

त्यस्तै सरकारले हाल पुल्चोकमा रहेको मन्त्री निवासलाई ललितपुरकै भैंसेपार्टीमा सार्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित त्रिकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले मन्त्रीहरुको आवासलाई भैंसेपाटीमा सार्ने निर्णय गरेको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई युनिभर्सल पिस फेडेरेसनबाट गुड गभरनेन्स अवार्डमा प्राप्त एक लाख अमेरिकी डलरमा सोही बराबर रकम नेपाल सरकारले थप गरी शान्ति सुशासन नवप्रवर्तन वैज्ञानिक खोज अनुसन्धान तथा विकासका क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याउने प्रतिभाशाली युवा तथा अन्य व्यक्तिलाई प्रोत्साहन तथा हौसला प्रदान गर्ने उद्देश्‍यले प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना गर्ने निर्णय सरकारले गरेको छ ।

साथै सरकारले स्वास्थ्य विमा बोर्डको कार्यकारी निर्देशकमा रमेशकुमार पोखरेललाई नियुक्ति गरेको छ । बैठकले विराटनगर घर भएका पोखरेललाई नियुक्ति गरेको हो ।

त्यस्तै सरकारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक पदमा सिफारिस गर्न तीन सदस्यीय छनोट समिति गठन गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति: बिहिबार, मंसिर २०, २०७५ /Thursday, December 6th, 2018, 7:47 pm