शेयर बजार हरियाली, एक कम्पनीद्वारा लाभांश प्रस्ताव

रामहरि कार्की/काठमाडौँ, मंसिर २० । बुधबार नेप्सेमा ठूलो पहिरो गए पनि बिहीबार भने थामिएको छ । बिहीबार नेप्से परिसूचक २ दशमलव ७ अंकले बढेर १ हजार १ सय २० दमलव ८४ अंकमा पुगेको छ ।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक शून्य दशमलव ५४ अंकले बढेर २ सय ३८ दशमलव ३३ अंकमा पुगेर बन्द भएको छ ।

नेप्से बढेसँगै कारोबार रकमा पनि वृद्धि भएको छ । बिहीबार कुल १ सय ६२ कम्पनीको १३ लाख ७४ हजार ३ सय ४६ कित्ता शेयर किनबेच हुँदा ३७ करोड ९ लाख ७१ हजार ९३६ रुपैया बराबरको कारोबार भएको छ । त्यसैगरी यसदिन ४ हजार १७० वटा कारोबार भएका छन् ।

बिहीबार कारोबारमा आएका १० समूह मध्ये जलविद्युत र उत्पादन समूह बाहेक सबै समूहहरु बढेका छन् । उत्पादन समूह २.६२, जलविद्युत समूह ९.८१ अंकले घटेका छन् । त्यसैगरी जीवन विमा समूह सर्वाधिक ४४.०७ अंकले बढेको छ ।

बिहीबार एनएमबि बैंकको सर्वाधिक कारोबार भएको छ । जसको ४ करोड ४६ लाख भन्दा बढीको कारोबार भएको छ । त्यसैगरी नेपाल बैंक, ग्लोबल आईएमई बैंक पनि सर्वाधिक कारोबार हुने सूचिमा परेका छन् ।

त्यस्तै यस दिन सर्वाधिक कमाउनेमा आईएमई जनरल इन्स्योरेन्सका लगानीकर्ताहरु नै रहेका छन् । जसको शेयर मूल्यमा ७ दशमलव ३० प्रतिशतले बढेको छ । त्यसैगरी अपि पावर कम्पनीको शेयर मूल्य ५ दशमलव ६७ अंकले बढेको छ ।

सर्वाधिक गुमाउनेमा कालिका लघुवित्त कम्पनीका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा लगभग ७ दशमलब ४२ प्रतिशतले घटेको छ । त्यसैगरी महला सहयात्राको ५.६८, युनाइटेड मोदी हाइड्रोपावरको ४.५ प्रतिशतले घटेको छ ।

बुधबार बजार २२ अंकले घटेपछि, पछिल्लो ३५ महिनाकै न्यून विन्दुमा पुगेको थियो । बजार घटेसँगै कम्पनीहरुको सेयरमूल्य निकै सस्तिएका छन । सस्तो मूल्यमा राम्रा कम्पनीहरुको सेयर खरिद गर्न लगानीकर्ताहरु बजार प्रवेश गरेपछि बजारले गति लिएको शेयर विष्लेषकहरु बताउँछन् ।

कालिका लघुवित्तले लाभांश घोषणा
बिहीबार कालिका लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव गरेको छ । कालिका लघुवित्त वित्तीय संस्थाले ८ प्रतिशत बोनस शेयर शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको मङ्सिर १९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सो लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत भएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

लाभांशका लागि कालिकाले बुक क्लोजका लागि पछि अलगै सूचना जारि गर्नेछ । बुक क्लोजको मितिसम्म कायम सेयरधनीहरुले मात्र कालिकाको लाभांश पाउनेछन । कालिकाले अघिल्लो वर्ष लघुवित्तले २१ दशमलव २१ प्रतिशत बोनस र बोनसमा लाग्ने कर प्रयोजनका लागि १ दशमलव १२ प्रतिशत नगद गरि कूल २२ दशमलव ३३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्रकाशित मिति: बिहिबार, मंसिर २०, २०७५ /Thursday, December 6th, 2018, 3:32 pm