धितोपत्र सम्बन्धी विषय विद्यालयदेखि नै समावेश गराउन पहल

काठमाडौं, मङ्सिर २० । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले धितोपत्र बजार सम्बन्धी विषयवस्तु विद्यालयस्तरदेखि नै समावेश गराउन सम्बन्धित निकायलाई अनुरोध गरेको छ । बोर्डले यस सम्बन्धी विषयवस्तु माध्यमिक विद्यालय र विश्वविद्यालयका विभिन्न स्नातक तथा स्नातकोत्तर स्तरका पाठ्यक्रमको तयारी तथा थप सुधार कार्य गर्दा समावेश गर्न गराउन अनुरोध गरेको हो ।

आवश्यक समन्वय तथा सहकार्यका लागि बोर्डले पाठ्यक्रम विकास केन्द्र, त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेका मानविकी तथा समाजशास्त्र संकाय, व्यवस्थापन संकाय, कानुन संकाय डीनको कार्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, मध्य पञ्चिमाञ्चल विश्वविद्यालय र काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेटमेन्टका साथै लोक सेवा आयोग, अनामनगरलाई अनुरोध गरेको जानकारी दिएको छ ।

विद्यालयस्तरदेखि विश्वविद्यालयसम्मका पाठ्यक्रममा धितोपत्र सम्बन्धी विषयवस्तुहरु समावेश गर्दा सो पाठ्यक्रमहरु समसामयिक तथा व्यावहारिक हुने बोर्डको विश्वास छ । साथै वित्तीय साक्षरताको स्तर अभिवृद्धि भई धितोपत्र बजारको दिगो विकासमा सहयोग पुग्ने अपेक्षा समेत बोर्डले गरेको छ । वित्तीय रूपमा साक्षर नभई धितोपत्र बजारमा गरिएको लगानी जोखिमपूर्ण हुने भएकाले लगानीकर्ताहरुमा साक्षरताको स्तर अभिवृद्धि गर्ने उद्देश्य सहित बोर्डले यो पहल गरेको हो ।

वित्तीय साक्षरताका लागि चालू आर्थिक वर्षदेखि नै बोर्डले पाक्षिक लगानीकर्ता प्रशिक्षण तथा रेडियो कार्यक्रमको सञ्चालन शुरुआत गर्नुका साथै यससँग सम्बन्धित सामग्री प्रकाशन तथा वितरणलाई निरन्तरता दिदै आएको छ । धितोपत्र बजार सम्बन्धी अध्ययन अनुसन्धान तथा प्रशिक्षण कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि धितोपत्र बजार प्रशिक्षण प्रतिष्ठानको स्थापना गर्ने लक्ष्य समेत बोर्डले राखेको छ । आर्थिक अभियानबाट

प्रकाशित मिति: बिहिबार, मंसिर २०, २०७५ /Thursday, December 6th, 2018, 7:54 am