निर्मला पन्तका हत्यारालाइ केही दिनमै कारवाही गर्ने विप्लव पार्टीको घोषणा

कालिकोट/ काठमाडौ, मङ्सिर १८ ।

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्यारालाई केही दिनमै कारबाही गर्ने घोषणा गरेका छ्न ।
कालिकोट पुगेका प्रवक्ता विश्वकर्माले घटनामा संलग्नलाई सरकारले कारबाही गर्न नसकेपछि आफ्नो पार्टीले कारवाही गरी निर्मलाको परिवारलाई न्याय दिने दाबी गरे ।
निर्मलाको हत्यारा सरकारले लुकाएका कारण पक्राउ गर्न नचाहेको उनले आरोप लगाए । नेकपा प्रवक्ता विश्वकर्माले निर्मला हत्या प्रकणलाई केही समय अगाडि चर्चामा आएको सुन काण्डजस्तै मिलाउने प्रयास भइरहेको सूचना पाएको जानकारी दिए ।
यसैबीच निर्मलाको हत्यारालाई पक्राउ र कारवाहीको माग गर्दै मुलुकभरका विभिन्न जिल्लाहरुमा आज पनि प्रदर्शन भएको छ ।
हत्या भएको चार महिना बितिसक्दा पनि हत्यारा पत्ता लगाउन नसकेको भन्दै काठमाडौंसहित रौतहट, दाङ लगायतका जिल्लामा युवाहरुले प्रदर्शन गरेका हुन् ।
रौतहटमा विद्यार्थीहरुले निर्मलालाई न्याय दे भन्दै नारावाजीसहित चन्द्रनिगाहपुरमा प्रदर्शन गरेका थिए । उनीहरुले सरकार भेटियो, न्याय भेटिएन’ लेखिएका स्टिकर र पोस्टरहरु बजारको चोक चोकमा टाँसेका छन् ।
यसैगरी काठमाडौँको प्रदर्शनिमार्गमा नेविसंघले प्रदर्शन गरेको छ । प्रदर्शनमा सहभागीहरुले सरकारका विरुद्ध चर्का नारावाजी गरेका थिए ।
यस्तै पश्चिम कञ्चनपुरदेखि पूर्वमा झापासम्मका जिल्लामा पनि आजपनि निर्मलाको तस्बिर अंकित पोष्टर टाँसिएको छ ।
दाङको लमही बसपार्कमा पनि युवाहरुले निर्मलाको न्याय माग्दै पोष्टर टाँसेका छन् । हिजो मात्रै युवाहरुले उपत्यका भित्र चल्ने र बाहिरिने गाडीहरुमा निर्मलाको न्यायका लागि पोष्टर टाँस्ने अभियान सुरु गरेका थिए ।

प्रकाशित मिति: मङ्लबार, मंसिर १८, २०७५ /Tuesday, December 4th, 2018, 8:05 pm