गणेशमान सिंह स्मृति खुल्ला राष्ट्रिय किक बक्सिङ प्रतियोगिता पुस ५ देखि चापागाउँमा हुने

ललितपुर, मंसिर १८ । ललितपुर किक बंसिङ संघको आयोजनामा दोस्रो वीर गणेशमान सिंह स्मृति खुल्ला राष्ट्रिय किक बक्सिङ प्रतियोगिता चापागाउँमा हुने भएको छ । प्रतियोगिता पुस ५ गतेदेखि पुस ७ गतेसम्म ललितपुरको गोदावरी–११ प्याङगाउँमा हुने प्रतियोगिताको संयोजक, राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष, करातेका अन्तर्राष्ट्रिय खेलाडी तथा कराते महासंघका वरिष्ठ उपाध्यक्ष मिनकृष्ण महर्जनले बताए ।

पुरुष तर्फ ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी र खुल्ला प्रतियोगिता हुने महर्जनले बताए । उनका अनुसार महिला तर्फ ५५ केजी मुनी, ६० केजी मुनी र खुल्ला प्रतियोगिता हुनेछ । संयोजक महर्जनका अनुसार प्रतियोगितामा कूल २ सय जना खेलाडीको सहभागिता रहने अनुमान रहेको छ ।

तीन दिनसम्म चल्ने उक्त प्रतियोगितामा तीन विभागिय टिमहरु नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरी सहभागी हुनेछन् । त्यसैगरी प्रतियोगितामा कराते, बक्सिङ, उसु, फुल कन्टाक कराते, तेक्वान्दो, आइटिफ, मोआइथाईको सहभागी हुने संयोजक महर्जनले बताए ।

प्रतियोगिता संयोजक महर्जनले भने– ‘स्वर्ण पदक विजेता खेलाडीलाई २० हजार, रजत पदक विजेता खेलाडीलाई १०, कास्य पदक विजेता खेलाडी २ जनालाई ५/५ हजार, उत्कृष्ट खेलाली महिला/पुरुषलाई क्रमशः १५/१५ हजार, सबैभन्दा बढी पदक हासिल गर्ने टिम च्याम्पियनलाई ५० हजार, दोस्रो टीप च्याम्पियनलाई २५ हजार पुरस्कारको व्यवस्था गरिएको छ ।’

खेलाडीहरुको मनोरञ्जनको लागि राष्ट्रिय कलाकार प्रताप दास र निशा देशारको प्रस्तुती रहने संयोजक महर्जनले बताए । प्रतियोगिता सञ्चालन गर्न कुल ३० लाख रुपैयाँ खर्च लाग्ने संयोजक महर्जनको भनाई छ ।

प्रकाशित मिति: मङ्लबार, मंसिर १८, २०७५ /Tuesday, December 4th, 2018, 7:00 pm