चिनियाँ कम्पनीले स्याटेलाइटबाट विश्वभर फ्री वाईफाई दिने

केहि समय अघि देखि गूगल,स्पेस एक्स, वनवेब तथा टेलिस्याट जस्ता केहि कम्पनीहरुले विश्वभर निशुल्क वाइफाई उपलब्ध हुने प्रबिधि तयार गर्न लागि परेका हुन् ।

तर चीनको एक कम्पनीले भने निकट भविष्यमै अन्तरीक्षमा आफ्नो स्याटेलाइट प्रक्षेपण गर्ने भएको छ , जसले पूरै विश्वभर निःशुल्क वाईफाई सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ ।

चिनियाँ कम्पनी लिंक स्योर नेटवर्कको यो योजना सफल भएमा सन् २०२० बाट विश्वका सबै मानिसले स्याटेलाइटको माध्यमबाट सीधै हाई स्पीड वाईफाई इन्टरनेट प्राप्त गर्नेछन् ।

आगामी वर्ष चीनको गाँसु प्रान्तस्थित जिउकुआङ प्रक्षेपण केन्द्रबाट उक्त स्याटेलाइट लञ्च गरिने कम्पनीले जनाएको छ ।कम्पनीले सन् २०२० सम्म अन्तरीक्षमा यस्ता १० वटा अरु स्याटेलाइट पनि पठाउने योजना बनाएको छ ।

कम्पनीले सन् २०२६ सम्ममा अन्तरीक्षमा लिंकस्योरका यस्ता २ सय ७२ वटा स्याटेलाइट हुनेछन् । त्यसले पूरै विश्वमा निःशुल्क वाईफाई नेटवर्क उपलब्ध गराउनेछ ।

कम्पनीका सीईओ वांग जिग्यिंगका अनुसार, यस योजनालाई सफल बनाउन कम्पनीले झण्डै ५ हजार करोड रुपैयाँ बराबरको रकम लगानी गर्नेछ । यस वाइफाईले टेलिकम नेटवर्क तथा अन्य इन्टरनेट प्रदायकहरु नपुगेका र पुग्न सम्भव नदेखिने क्षेत्रहरुमा पनि काम गर्ने भएकोले उक्त स्थानमा पुगेका वा रहेका मानिसहरुले पनि अब यो नेटवर्क प्रयोग गरि सजिलै संग इन्टरनेट चलाउन सक्ने चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् ।

एक रिपोर्टअनुसार, विश्वमा अहिले ३ अर्बभन्दा धेरै मानिसले इन्टरनेट प्रयोग गर्न पाएका छैनन् ।

स्पेस एक्स, गुगल, वनवेब तथा टेलिस्याटजस्ता कम्पनीहरु पनि स्याटेलाइट प्रयोग गरि अन्तरिक्षबाट निशुल्क इन्टरनेट चलाउन मिल्ने यस्तो खाले योजना ल्याउने तयारीमा लागिरहेका छन् । यदि सबै योजना सफल भएमा यी कम्पनीहरुका स्याटेलाइट तथा बेलुनहरुले पनि अन्तरीक्षबाट पृथ्वीमा हाइस्पिड इन्टरनेट सेवा उपलब्ध गराउने छन् ।

प्रकाशित मिति: सोमवार, मंसिर १७, २०७५ /Monday, December 3rd, 2018, 1:02 pm