शुक्रबार दुई कम्पनीले घोषणा गर्यो लाभांश

काठमाडौं, कात्तिक ३० । शुक्रबार दुई वटा कम्पनीले लाभांश घोषणा गरेको छ । लाभांश घोषण गर्ने कम्पनीमा सोल्टी होटल र एनआईसी एशिया बैक रहेका छन् ।

सोल्टी होटलले १० प्रतिशत बोनस सेयर र १६ दशमलव ३१ प्रतिशत नगद गरी कुल २६ दशमलव ३१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । सोल्टीले २६ दशमलव ३१ प्रतिशत लाभांश प्रस्तावसहित पुस २६ गत वार्षिक साधारण सभा बोलाएको छ । कात्तिक २९ गते बसेको सञ्चालक समितिको २२० औं बैठकले प्रस्ताव गरेको हो । साधारण सभा नेपाल प्रज्ञा भवन कमलादी, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभा गर्न मंसिर २६ गतेदेखि बुक क्लोज हुने होटलले जनाएको छ । मंसिर २५ गतेसम्म कायम रहने सेयरधनी मात्र सोल्टीले दिने लाभांशको हकदार हुनेछन् । सोल्टीको हाल चुक्ता पुँजी ६६ करोड ६० लाख ६३ हजार ७४० रुपैयाँ छ । प्रस्तावित १० प्रतिशत बोनस सेयर वितरणपछि चुक्ता पुँजी ७३ करोड २६ लाख ७० हजार ११४ रुपैयाँ पुग्नेछ ।

त्यसैगरी एनआईसी एशिया बैङ्क लिमिटेडले १० दशमलव ५२६ प्रतिशत बोनश शेयर दिने भएको छ । शुक्रवार बसेको बैङ्कको ३७७ औं सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७४÷०७५ को खुद मुनाफाबाट सो बराबरको बोनस शेयर दिने घोषणा गरेको हो । समितिले उक्त शेयर लाभांशमा लाग्ने कर प्रयोजनको लागि प्रतिशेयर शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश दिने निर्णय समेत गरेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैङ्कको स्वीकृति तथा बैङ्कको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र शेयरधनीलाई वितरण गरिने बैङ्कले बताएको छ । बैङ्कले गत आर्थिक वर्षमा वार्षिक विन्दुगत आधारमा कर्जा तथा सापटी तर्फ रू. ४८ अर्ब वृद्धि गरी रू. १ खर्ब २० अर्ब प्रवाह गरेको थियो । सो अवधिमा बैङ्कले रू. ६४ अर्ब वृद्धि गरी रु। १ खर्ब ५२ अर्ब निक्षेप सङ्कलन गरेको थियो । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा भने बैङ्कले कर्जा तथा सापटीतर्फ वार्षिक विन्दुगत आधारमा ६१ प्रतिशतले वृद्धि गरी रु। १ खर्ब ३९ अर्ब पुर्‍याएको छ । यस्तै कुल निक्षेपमा ५८ प्रतिशतले वृद्धि गरी रु। १ खर्ब ६३ अर्ब सङ्कलन गर्न सफल भएको छ । साथै, खुद मूनाफामा १ सय ७० प्रतिशतले वृद्धि गरी रु. ७५ करोड ५३ लाख आर्जन गरेको छ । बैङ्कको प्रतिशेयर आम्दानी रू. ३६ दशमलव ७८ रहेको छ । हाल बैङ्कले नेपाल भर २ सय ६५ ओटा शाखा सञ्जाल, २ सय ६९ एटिम, ३७ एक्सटेन्सन काउण्टर तथा १८ शाखारहित बैङ्किङ सेवा मार्फत आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, कार्तिक ३०, २०७५ /Friday, November 16th, 2018, 7:31 pm