सांसद सिलवाललाई कार्यकर्ताले नै देखाए कालो झण्डा

ललितपुर, कात्तिक २९ । ललितपुर क्षेत्र नं. १ बाट निर्वाचित सांसद नवराज सिलवाललाई आफ्नै पार्टीका कार्यकर्ताले कालो झण्डा देखाएका छन् । निर्वाचनको बेलामा कार्यक्रम गर्दा कार्यकर्तालार्इ खाना, खाजा खुवाएको रकम सिलवालले नतिरेपछि स्थानीय बाबू न्यासुरले कालो झन्डा देखाएका हुन् । स्मरण रहोस प्रतिनिधि सभाको निर्वाचन भएको मङ्सिर २१ गते एक वर्ष पुग्दैछ । एकवर्ष सम्म पनि आफ्नो रक्म नतिरेपछी बिरोधमा उत्रिनु परेको उनले बताए ।

असोज २९ आफ्नो निर्वाचन क्षेत्रमा आयोजित चियापान कार्यक्रममा सहभागी हुने क्रममा उनलाई महाकाल गाउँपालिका वडा नं. ३ गोटिखेलका बाबु न्यासुरले चन्दनपुरको ससिपाभञ्ज्याङमा कालो झण्डा देखाएका हुन् ।

कालो झण्डा देखाए लगत्तै न्यासुरलाई सिलवालका कार्यकर्ताले नियन्त्रणमा लिएर एकदिन पछि छोडेको एक स्थानीयले बताए । निर्वाचन क्षेत्रमा आएको निर्वाचित संसदलाई किन कालो झण्डा देखाएको त भनी सोध्दा उनले भने, ‘हामीलाई प्रयोग गरेर निर्वाचनका समयमा खर्च गर्नु भो । उहाँ सांसद भएपछि निर्वाचनमा खाना खुवाएको खर्च तिर्न आनाकानी गर्नु भो, अनि स्थानीय पसलवालाहरुले मलाई गाली गर्न थाले, सांसद बन्ने सिलवाल, गाली पाउने हामी ? त्यसैले बिरोध स्वरुप कालो झण्डा देखाएको हुँ ।’

सांसद सिलवालले निर्वाचनका समयमा खर्च गरेको रकम अझैसम्म धेरै ठाउँमा तिर्न बाँकी रहेको दैनिकीन्युजलाई एक स्थानीयले बताए । नाम उल्लेख नगर्न आग्रह गर्ने महाकाल गाउँपालिकाका एक स्थानीय जनप्रतिनिधिले भने, ‘गोटिखेलका पसलहरुमा पनि धेरै तिर्न बाँकी छ भन्ने सुनेको छु, त्यहीँ कारण दशैंका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा जाँदा सिलवालले कालो झण्डा पाए भन्ने थाहा पाएको हुँ ।’

यसैबीच ललितपुर बुखेलका पूर्व गाविस अध्यक्ष तथा तत्कालिन एमालेका नेता रामकृष्ण हुमागाईले चुनावको बेला खाना, खाजा खाएकोे र अन्य उधारो रकम तिर्न कुनै चासो देखिंदैन, तर संसदीय कोषको रकम आफुले भनेको तिर पार्न तँछाड मछाड देखिंदैछ भन्दै सामाजिक सञ्चालमा नै असन्तुष्ट व्यक्त गरेका छन । दैनिकीन्युजसङ्ग हुमागाइले भने-‘चुनावको बेला खाना खुवाएको पैसा र गाडीका खर्च अहिलेसम्म साम्सद सिलवालले तिरेका छैनन सोही विषय आफूले सामाजिक सञ्चालमा लेखेको हु, यसभन्दा बढी भनिरहनु नपर्ला ।’

नेकपा ललितपुरले पनि यस विषयमा पार्टीभित्र छलफल गर्न सांसद सिलवाललाई बोलाएका थिए तर उनी पार्टी कार्यालयमा उपस्थित नभएको नेकपाका एक नेताले बताए । छलफलका लागि भनेर गाउँपालिका अध्यक्ष रामचन्द्र दाहालसमेत पार्टी कार्यालयमा आएका थिए । ‘सांसद सिलवालले गर्दा मलाई समेत गाउँपालिकामा बस्न असजिलो भयो ।’, दाहालको भनाई उधृत गर्दै नेकपाका एक जिल्ला नेताले भने ।

स्थानीय संजय लामाले रामकृष्ण हुमागाईको स्टाटसमा कमेन्ट गर्दै लेखेका छन् – ‘यस्तै हो, नेतृत्व बिहिन पार्टी भएपछि न पार्टीले भन्या मान्छ, न जिम्मेवारीका साथ जनताको पक्षमा बिकास नै गर्न सक्छ, जिम्मेवार जनप्रतिनिधिहरु अब त मसिहा भन्दा नि राजा बनेका छन, चुनाब त आउन देउ तेइ बेला देखाउला चुरिफुरी,यहाँ कस्ले कस्को कुरा मान्ने नेताहरु खुरापातेहरुको गफमा मख्ख दिल्ली बसेर अमेरिका देख्ने,यहाँ त एकले अर्कालार्इ गिराउने तर्फको खेल मात्र भइरहेको छ,बिकास त कुरा छोड्नुहोस आफु खुसी चल्छ यहाँ ,जागिरमा पनि अफ्नो मान्छे चाहिन्छ, यस्तै चलिराछ, क्या गजब छ वा,वा !’

कालेश्वरका माधव दुलालले नेता हुमागाईकै फेसबुक स्टाटसमै कमेन्ट गर्दै लेखेका छन्– ‘खाएको त पचिसक्यो, अब संसदीय कोष पनि पच्छ सर, हामीले चिन्ता लिनु पर्दैन ।’
यस विषयमा प्रदेश निर्वाचन क्षेत्र नं. १ ख का सांसद चेतनाथ सञ्जेलसंग सम्पर्क गरी बुझ्दा कतिपय ठाउँको हिसाव अझै आउन बाँकी रहेको र हिसावको जानकारी आएपछि तिर्ने वताए । चुनाव भएको एक वर्ष पछिसम्म पनि किन र कसरी हिसाव आउन नसकेका हो त्यो चाहि सांसद सञ्जेलले उल्लेख गरेका छैनन् ।

प्रदेश नं. १ क की सांसद सुशीला पुनलाई सम्पर्क गर्न खोज्दा उनको मोवाइल अफ थियो । त्यस्तै सांसद सिलवालको मोवाइलमा सम्पर्क गरी सोध्दा सानो तिनो हिसाव बाँकी रहेको र पार्टीले यस बारेमा समिति पनि बनाएको उल्लेख गरे । एक वर्षसम्म पनि हिसाव बाँकी रहेको अवस्थामा आफु व्यस्त भएर हिसाव हेर्न नभ्याएको वताउँदै पन्छिन खोजे ।

 

यो पनि पढ्नुहोस

सिलवालले राखेको चियापानले नेकपाभित्रै हङ्गामा

प्रकाशित मिति: बिहिबार, कार्तिक २९, २०७५ /Thursday, November 15th, 2018, 10:40 am