२५ स्थानमा केबुलकार प्रस्ताव, कार्यविधि नबन्दा अन्योल

काठमाडौं, कात्तिक २८ । नेपालका थप स्थानमा केबुलकार सञ्चालनका लागि आवेदन परेको छ । अग्ला, पर्यटकीयस्थल तथा मन्दिरलगायतका स्थानलाई लक्षित गर्दै केबुलकार सञ्चालनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग २३ वटा कम्पनीले अनुमतिका लागि प्रस्ताव गरेका छन् । यस्तै, संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयसँग आईईएई (वातावरणीय अध्ययन अनुमति) का लागि दुईवटा आवेदन परेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव गोपालप्रसाद सिग्देलका अनुसार, अग्ला, पर्यटकीयस्थल तथा मन्दिरलगायतका स्थानलाई लक्षित गर्दै केबुलकार सञ्चालनका लागि अनुमति माग गर्दै आवेदन दिने कम्पनीको संख्या बढ्दै गइरहेको छ ।

मन्त्रालयका अनुसार इलामको पाथिभरा दर्शन प्रालि, बूढानीलकण्ठदेखि शिवपुरी डाँडासम्मको त्रिवेणी केबुलकार, इलाम पाथिभरा दर्शन, हिमाल दर्शन, दिव्यदर्शनलगायतका केबुलकार कम्पनी निर्माणको चरणमा रहेका छन् । त्यसैगरी, मौलाकालिका दर्शन प्रालि, मौलाकाली केबुलकार प्रालि, सगरमाथा रोपवे, लिक सेवा, मालिका रोपवे, मुुक्तिनाथ दर्शन, घ्याम्पेफेदी, गोसाइकुुण्ड केबुलकार, सिद्धेश्वर पर्यटन सहकारी, सिद्धबाबा केबुलकार, गोसाइकुण्ड दर्शन प्रालि र शिवपुरी इकोटुरिजम एन्ड केबुलकारलगायतका कम्पनीहरू सञ्चालनको पर्खाइमा रहेको मन्त्रालयले जनाएको छ ।

हाल मनकामना र चन्द्र्रागिरि केबुलकार मात्रै सञ्चालनमा छन् । नेपालमा मनकामना केबुलकार सञ्चालमा आएको डेढ दशकपछि चन्द्रागिरि केबुलकारले सञ्चालनका लागि स्वीकृति पाएको थियो । त्यस्तै, पोखरामा अन्नपूर्ण केबुलकार, ताप्लेजुुङमा पाथिभरा केबुलकार सञ्चानलका लागि आवश्यक पूर्वाधार निर्माण भइरहेको छ भने दोलखामा कालिञ्चोक दर्शन सञ्चालनको तयारीमा रहेको मन्त्रालयले जनाएको छ ।

यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले हेर्ने भए पनि अबदेखि केबुलकार (रज्जुमार्ग) को जिम्मेवारी संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयलाई दिइएको छ । राजधानी दैनिकबाट

प्रकाशित मिति: बुधबार, कार्तिक २८, २०७५ /Wednesday, November 14th, 2018, 7:47 am