राजपामा महन्थविरुद्ध मोर्चाबन्दी

काठमाडौं, कात्तिक २५ । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले पार्टीमा एकलौटी निर्णय गरेको भन्दै पार्टीका अन्य नेताहरूले ठाकुरविरुद्ध मोर्चाबन्दी सुरू गरेका छन्।

ठाकुरले केही दिनअघि मात्र ४ महासचिव र २ सहमहासचिव सुटुक्क नियुक्त गरेका थिए। यसअघि उनले विनोद सिंहलाई सुटुक्क महासचिमा नियुक्त गरेका थिए। राजपामा यसअघि २८ जना महासचिव हुँदा हुँदै अरु ४ महासचिव थप्न आवश्यक नभएको पार्टीका पदाधिकारीहरू बताउँछन्।

तर ठाकुरले कसैसँग सरसल्लाह नगरी ४ जना महासचिव थपे। आवश्यक नहुँदा पनि किन पदाधिकारी थप्नु प(यो भन्दै राजपाका अन्य नेता ठाकुरसँग आक्रोशित भएका छन्। ठाकुरले थपेका ६ पदाधिकारीमध्ये सबै ठाकुर निकट हुन् । यसैगरी प्रदेश दुइ सरकारको नीति आयोगमा पनि ठाकुरले आफू निकट व्यक्तिलाई मात्र मनोनित गरेको आरोप उनीमाथि लगाइएको छ। ठाकुरले आफू निकट डा। सुरेन्द्र झालाई नीति आयोगको सदस्यमा मनोनित गरे। यसैगरी उनले राजकुुमार लेखीलाई पनि नीति आयोगको सदस्यमा मनोनित गरे।

ठाकुरले मनोनित गरेका ४ महासचिवहरू सिंह, जयप्रकाश ठाकुर, शशीकपुर मिया र पुरूषोत्तम झा यसअघि तमलोपा पृष्ठभूमिका हुन् । यसैगरी, गरी गत असोजको अन्तिम साता थपिएका २ सह महासचिव कुमारनाथ मिश्र र परेश्वर साह पनि पूर्व तमलोपा पृष्ठभूमिका हुन् । ठाकुरले प्रदेश २ सरकरमा थपेका ३ राज्यमन्त्रीमध्ये अभिराम शर्मा र सुरेन्द्र मण्डल पनि यसअघि तमलोपामा आवद्ध थिए।

राजपाले आगामी वैशाख ७, ८ र ९ मा महाधिवेशन गर्ने भनी तिथि घोषण गरेको छ। महाधिवेशनको तिथि तय भइसकेपछि पदाधिकारी थप्न नमिल्ने असन्तुष्ट नेताहरूको भनाइ छ। एक पदाधिकारी भन्छन्, ‘महाधिवेशनेको तिथि घाषणा भइसकेपछि काँही पनि पदाधिकारी थपिँदैन तर राजपामा महाधिवेशनेका तिथि घोषणा भएको पाँच महिनापछि पनि पदाधिकारी मनोनित गरिएको छ।’ पार्टीको आगामी बैठकमा यसबारे कुरा उठाउने उनले बताए। नागरिक दैनिकबाट

प्रकाशित मिति: आइतवार, कार्तिक २५, २०७५ /Sunday, November 11th, 2018, 8:38 am