पदाधिकारी संख्याबारे कांग्रेसमा विवाद

काठमाडौं, कात्तिक २५ । नेपाली कांग्रेसभित्र पदाधिकारी संख्यालाई लिएर विवाद बढ्ने भएको छ। महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वमा गठन भएको विधान मस्यौदा समितिभित्रै पदाधिकारीको संख्यालाई गुटगत र व्यक्तिगत स्वार्थ हावी भएसँगै विवाद बढ्न थालेको हो।

सभापति शेरबहादुर नेता रामचन्द्र पौडेल पदाधिकारीको संख्या बढाएर आशन्न १४औं महाधिवेशनमा नेतृत्वमा टिक्ने र नेतृत्वममा पुग्ने रणनीतिमा छन्। देउवा र पौडेलबाहेकका नेताहरू आफ्नो अनुकूल पदाधिकारी संख्या बढाएर आगामी महाधिवेशनमा आफ्नो स्थान सुरक्षित गर्न लागिपरेका छन् ।

नेतृत्व विकास तथा हस्तान्तरणभन्दा गुटगत र व्यक्तिगत स्वार्थका कारण पदाधिकारी संख्या बढाउने वा नबढाउने र बढाए कुन पद बढाउने भन्नेमा समेत मतभेद देखिएको छ। दोस्रो पुस्ताका नेताहरूको सहज व्यवस्थापन हुनेगरी पदाधिकारी संख्या थपको पक्षमा सभापति देउवा र नेता पौडेल छन्। तर, उनीहरूबीच कुन पद बढाउने भन्नेमा एकमत छैन।

सभापति देउवा उपसभापति र सहमहामन्त्रीको पद थपको पक्षमा छन्। पार्टीका केही नेताहरूको व्यवस्थापनका लागि सहमहामन्त्रीको संख्या एकबाट तीन प¥याउने र उपसभापतिको संख्या एक थपको पक्षमा छन्। तेस्रो तहका नेताको व्यवस्थापनका लागि सहमहामन्त्री थपको पक्षमा रहेका देउवा एक उपसभापतिको संख्या थप गरेर नेता विजयकुमार गच्छदारको पनि व्यवस्थापन गर्ने पक्षमा निकटहरु बताउँछन्।

नेता पौडेल भने पदाधिकारीका आकांक्षी दोस्रो पुस्ताका एक दर्जन नेताको व्यवस्थापनको पक्षमा देखिएका छन्। त्यसका लागि पार्टी उपसभापति, महामन्त्रीको संख्या बढाएर सभापति देउवाविरुद्धको मोर्चाबन्दीमा रहेका नेताको समर्थनमा आशन्न महाधिवेशनबाट नेतृत्वमा पुग्ने सुरमा छन्। असन्तुष्ट पक्षको मोर्चामा पूर्वमहामन्त्रीहरू प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला साथै रामशरण महत, अर्जुननरसिंह केसीसहितका नेताहरू छन् भने महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य शेखर कोइरालालाई पनि समेट्नुपर्ने पौडेलको वाध्यता छ।

पदाधिकारी संख्या बढाउँदा असन्तुष्ट पक्षलाई फाइदा पुग्ने विश्लेषणपछि सभापति देउवा र निकट नेताहरु पछिल्लो समय पदाधिकारी थपको विपक्षमा उभिएका छन्। उनीहरू पार्टीको विद्यमान पदाधिकारी संख्या नै कामयै राखेर अन्तिम मस्यौदा बनाएका छन्। नागरिक दैनिकबाट

प्रकाशित मिति: आइतवार, कार्तिक २५, २०७५ /Sunday, November 11th, 2018, 8:31 am