नेकपाभित्र चुलिँदै आन्तरिक किचलो

काठमाडौं, कात्तिक २५ । पार्टी एकीकरण भएको छ महिना बितिसक्दा समेत सांगठानिक एकता प्रक्रिया टुंगो लाग्न नसक्दा नेपाल कम्युनिस्ट पार्टीभित्र आन्तरिक किचलो बढ्दै गएको छ ।

पार्टी एकता घोषणा भएको दिन जेठ ३ गते तीन महिनाभित्र सबै तहको एकता प्रक्रिया टुंगो लगाउने बताइए पनि छ महिना बितिसक्दा समेत एकता प्रक्रियाले गति लिन सकेको छैन ।

४४१ केन्द्रीय समिति, प्रदेशको इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवबाहेक अन्य जनसंगठनको एकता प्रक्रिया अगाडि बढ्न सकेको छैन । पूर्व दुवै पार्टीका सांगठानिक एकता प्रक्रिया एकसाथ टुंगो लगाउने गरी प्रदेशस्तरीय कार्यादल गठन भएको थियो ।

कार्यादलले पार्टीका महासचिव विष्णु पौडेललाई बुझाएको प्रतिवेदनमाथि सचिवालयको बैठकमा छलफल गर्ने क्रममा पार्टीभित्र विवाद शुरु भएको थियो ।

पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू अनुकूलका नेताहरुलाई मात्र जिम्मेवारी दिने गरी प्रतिवेदन आएको भन्दै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले आपत्ति जनाएका थिए ।

अध्यक्षद्वय ओली र प्रचण्डले एकताको भावना विपरित एकलौटी रुपमा सांगठनिक एकता प्रक्रिया टुंगो लगाउन खोजेको भन्दै शुरु भएको विवादको कारणले गर्दा छ महिना बितिसक्दा समेत एकताले गति लिन सकेको छैन ।

पार्टी एकता भएपछि गठित कार्यालयले बुझाएको प्रतिवेदनमाथि सचिवालयभित्र नै विवाद भएपछि प्रदेशको सांगठानिक एकता र केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्ने गरी सचिवालयको बैठकले महासचिव विष्णु पौडेल र नेता रामबहादुर थापाको सदस्य रहेको दुई सदस्यीय कार्यदल गठन गरेको थियो । नेपाल समाचारपत्रबाट

प्रकाशित मिति: आइतवार, कार्तिक २५, २०७५ /Sunday, November 11th, 2018, 7:13 am