कार्यकर्ता पक्रियपछि सरकार विरुद्ध नेविसंघको आन्दोलन घोषणा, कात्तिक २५ र २६ गते विद्यालय बन्द गर्ने कार्यक्रम सार्वजनिक

काठमाडौँ, कात्तिक २४ । नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरले तपेश्वर माध्यमिक विद्यालय काभ्रेका इकाइ अध्यक्ष कृष्ण ढकाललाई विनाशर्त रिहाइ नगरिए आन्दोलन गर्न बाध्य हुने बताउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्टुन सेयर गरेको भन्दै कार्यकर्ता पक्राउ परेपछि नेविसंघले सरकारविरुद्ध आन्दोलन गर्ने घोषणा गरेको हो ।

शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले विभिन्न बहानामा नेविसङ्घका कार्यकर्तालाई पक्राउ गर्ने र जेलमा हाल्ने काम गरेकोप्रति विरोध जनाए । गत कात्तिक २० गते कुकुर तिहारको दिनमा कुकुरको टाउको जोडिएको फेसबुक वालमा आएको फोटो सेयर गरेका आरोपमा ढकाल पक्राउ परेको थियो ।

नेविसङ्घले ढकालको पक्राउको विरोधमा यही कात्तिक २५ र २६ गते काभ्रेका सम्पूर्ण विद्यालय बन्द र कात्तिक २८ गते सबै जिल्ला सदरमुकाममा २ घण्टा चक्का जाम गर्नेलगायत कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रकाशित मिति: शनिबार, कार्तिक २४, २०७५ /Saturday, November 10th, 2018, 9:19 pm