गच्छदारको बिषयमा गगनले गरे देउवाको कडा आलोचना

काठमाडौँ, कात्तिक २४ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाको चर्को आलोचना गरेका छन्। नेता थापाले पार्टी उपसभापतिमा विजयकुमार गच्छदारलाई मनोनित गर्ने सभापति देउवाको शैलीलाई अराजकताको संज्ञा दिँदै चर्को आलोचना गरेका हुन्।

शनिबार काठमाडौंमा गणेशमान सिंह स्मृति भवनको उद्घाटन कार्यक्रममा बोल्दै उनले सभापति देउवाको कार्यशैली पार्टीका लागि खतरनाक हुने चेतावनी पनि दिए। नेता थापाले विधान विपरित जथाभावी नचल्न पनि पार्टी सभापति देउवालाई सचेत गराए।

उनले आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउन युवा पुस्तालाई पार्टीमा आकर्षित गर्ने कार्यक्रम संचालन गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए।

कार्यक्रममा बोल्दै कांग्रेस नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाले विधान विपरितका गतिविधि गरिरहेको उल्लेख गर्दै त्यसलाई रोक्न पार्टीका नेता, कार्यकर्तालाई एकतावद्ध हुन आह्वान गरेका थिए।

सर्वोच्च नेता गणेशमान सिंहको जन्मजयन्तिको अवसर पारेर नेपाली कांग्रेस जिल्ला कार्य समिति, काठमाडौंले रातोपुलमा सो स्मृति भवन बनाएको हो।

प्रकाशित मिति: शनिबार, कार्तिक २४, २०७५ /Saturday, November 10th, 2018, 9:08 pm