सामुदायिक लघुवित्तको आईपीओ मंसिर २ देखि खुल्दै, प्रति व्यक्ति कति कित्तासम्म भर्न पाउने र कहाँबाट आवेदन दिने ?

काठमाडौं, कात्तिक २३ । सामूदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । लघुवित्तले २ लाख ७३ हजार कित्ता आईपीओ जारी गर्ने भएको हो ।

यो वित्तीय संस्थाले मंगलबार सार्वजनिक गरेको संशोधित आव्हान पत्र अनुसार आगामी मंसिर २ गतेबाट निष्काशन हुने उक्त शेयरको छिटोपत्र निष्काशन बन्द हुने छिटोमा मंसिर ५ र ढिलोमा पुस २ गतेसम्म हुने भएको छ । लघुवित्तले धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धकको रुपमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडलाई नियुक्ति गरेको छ ।

यो लघुवित्तको जम्मा १० करोडको चुक्ता पुँजीमा ३० प्रतिशत अर्थात ३ करोड रुपैयाँ बराबरको रकमका लागि ३ लाख कित्ता शेयरको आइपीओ निष्कासन गरेको हो ।

यसमध्ये १२ हजार कित्ता शेयर कर्मचारीलाई, १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ । बाँकी रहेको २ लाख ७३ हजार कित्ताको मात्रै आम सर्वसाधारणबाट आवेदन माग गरिएको हो ।

सर्वसाधारणले सो कम्पनीको शेयरका लागि न्युनतम ५० कित्ता र अधिकतम १५०० कित्ताका लागि आवेदन गर्न सक्नेछन् ।

काभ्रेको साँगामा मुख्य कार्यालय रहेको लघुवित्तको हालको चुक्ता पुँजी ७ करोड रहेकोमा ३ करोड बराबरको साधारण शेयर जारी गरी १० करोड रुपैंया चुक्ता पुँजी कायम गर्न लागेको छ ।

२ करोडभन्दा बढी रकम अनियमितता भएको एवं लिएको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अध्यक्षसँगै ४ जनालार्इ पक्राउ गरेपछि आह्वानपत्र प्रकाशन गरेर पनि निष्काशन रोकिएको थियो । राष्ट्र बैंकले अनियमिततामा संलग्न कम्पनीका पदाधिकारीहरुको कारबाही प्रक्रिया सम्पन्न गरेसँगै लघुवित्तले आईपीओ प्रक्रिया अघि बढ्ने निश्चित भएको थियो । तर धितोपत्र निष्काशन निर्देशिका २०६५ को व्यवस्था अनुसार धितोपत्र बोर्डबाट स्वीकृति पाएको दुर्इ महिनाभित्र शेयर निष्काशन गरिसक्नुपर्ने मा सो हुन नसकेपछि आर्इपीओका लागि नयाँ प्रक्रिया सुरु गर्नुपर्ने अवस्थामा कम्पनी पुगेको थियो । त्यसका लागि कम्पनीले विवरणपत्रमा संशोधन गरी धितोपत्र बोर्डमा पुनः पेस गरेको थियो । संशोधित विवरणपत्रलाई बोर्डले यही कार्तिक १३ गते स्वीकृत गरेसँगै कम्पनीले संशोधित आह्वानपत्र प्रकाशन गरेको हो ।

धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ्ग लिमिटेड र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण आस्बा सेवामा सहभागि बैङ्क तथा वित्तीय संस्थाबाट आवेदन गर्न सक्नेछन् ।

प्रकाशित मिति: शुक्रबार, कार्तिक २३, २०७५ /Friday, November 9th, 2018, 10:08 am