शिक्षा मन्त्रालयका उपसचिव नगरपालिका नजाने !

काठमाडौ, कात्तिक २२ ।
शिक्षा मन्त्रालयबाट नगरपालिकाहरूमा खटाइएका उपसचिव कार्यक्षेत्रमा जान मानेका छैनन् । दसैंअघि १ सय ६६ उपसचिवको सरुवा भएको थियो । मन्त्रालयका अनुसार नगरपालिकाको शिक्षा शाखा प्रमुखमा सरुवा गरिएका उपसचिवले रमाना लिएर जान चासो देखाएका छैनन् ।

सरुवा गरिएकामध्ये केहीले मात्रै नगरपालिका जाने इच्छा देखाएका छन्। कुनै मापदण्ड तय नगरी जथाभावी सरुवा गरिएको भन्दै उनीहरूसहित कर्मचारी संघ/संगठनले असन्तुष्टि जनाएका छन्।
उनीहरूले शिक्षामन्त्री र सचिवलाई भेटेर सरुवाको निर्णय सच्याउन दबाब दिएका छन्। सरुवा भएको ठाउँमा जिम्मेवारी सम्हाल्न नजानेको संख्या बढी देखिएको मन्त्रालयका एक सहसचिवले बताए। खटाएको ठाउँमा नगएर उनीहरू साविकको कार्यालयमै हाजिर भएर बसेका हुन्। कर्मचारी संघ/संगठनले मापदण्डबिनै गरिएको सरुवा बदर गर्नसमेत माग गरेका छन्।

स्वीकृत संगठन संरचनाअनुसार मन्त्रालयमा काजविहीन भएका उपसचिवका लागि २ सय ४५ वटा नगरपालिकामा दरबन्दी कायम गरिएको थियो। तीमध्ये १ सय ५७ नगरपालिकामा तिनलाई खटाइएको थियो। २५ देखि ७५ हजारसम्म जनसंख्या भएका नगरपालिकाका उपसचिवले शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुखको जिम्मेवारी सम्हाल्नेछन्। दरबन्दी स्वीकृत भएका ८८ नगरपालिकामा अझै मन्त्रालयले उपसचिव खटाउन सकेको नसकेको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

लामो समयदेखि शिक्षाका उपसचिवहरू मन्त्रालय र मातहत निकायमा कामविहीन भएर बसेका थिए। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संगठन संरचना सच्याएर नगरपालिकामा उपसचिवको दरबन्दी थप गरेको हो। शिक्षा मन्त्रालयमा स्थायी र अस्थायी गरेर १ सय ९२ उपसचिवको दरबन्दी छ। तर मन्त्रालयसँग ४ सय ८७ जना छन्।

दरबन्दीभन्दा बढी २ सय ९५ उपसचिव थिए। २०६९ सालमा शिक्षाका कर्मचारी समायोजन गर्दा उपसचिवको संख्या बढेको हो ।

प्रकाशित मिति: बिहिबार, कार्तिक २२, २०७५ /Thursday, November 8th, 2018, 9:08 am