चितवन राइनोजद्वारा पोखरा पल्टनलाई १६१ रनको लक्ष्य

पोखरा, कार्तिक २० । पोखरा प्रिमियम लिगको फाइनल खेलमा चितवन राइनोजले पोखरा पल्टनसमक्ष ५ विकेटको क्षतिमा १६१ रनको लक्ष्य प्रस्तुत गरेको छ । शुरुआत खराब रहेको चितवन राइनोजले ९ रन नपुग्दै पहिलो विकेट गुमाएको थियो ।

त्यसपछि पारस खडकाले टीमलाई एउटा उचाईतर्फ लगेका थिए । ९ रनमा विकेट गुमाए पछि मैदान आएका पारसले ३६ बल खेल्दै ६ चौका प्रहार गरेका थिए । अर्धतक पूरा गरे पछि १ रन जोडेर नन स्ट्राइक इनमा रहेका पारस त्यसपछि रन आउट भएका थिए ।

रासिद खानको बलिङमा अनिल साहले प्रहार गर्दा उनको हातलाई छोएर स्टम्पमा लागेको थियो । त्यसपछि उनी ५१ रनमा आउट हुँदै पेभेलियन फर्किएका थिए ।

आज दुवै टोली पहिलो संस्करणको उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएका छन् । विजेताले २७ लाख प्राप्त गर्नेछन् भने उपविजेता टोलीले १० लाखमा चित्त बुझाउनेछन् ।

प्रतियोगिताको म्यान अफ द सिरिज, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरहरुले सुजुकी जिक्सर १ सय ५५ सीसी मोटरसाइकल प्राप्त गर्ने छन् ।

प्रकाशित मिति: मङ्लबार, कार्तिक २०, २०७५ /Tuesday, November 6th, 2018, 12:55 pm