तिहार सुरु, आज कागतिहार

काठमाडौं, कात्तिक १९ । हिन्दु नेपालीहरुको दोश्रो ठूलो पर्व तिहार सोमबार सुरु भएको छ। कात्‍तिक शुक्ल त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म गरी पाँच दिनसम्म मनाइने तिहारको पहिलो दिन आज कागतिहार पर्छ।

त्यस्तै दोश्रो दिन कुकुरतिहार, तेश्रो दिन गाईतिहार, चौथो दिन गोवर्द्धन पूजा र पाँचौं तथा अन्तिम दिन भाइटीका पर्छ। तिहारको तेस्रो दिन साँझमा लक्ष्मीपूजा गरिन्छ भने चौथो दिनमा नेवार समुदायले म्हः पूजा गर्छन् भने नेपाल सम्वतको नयाँ वर्ष पनि यसै दिन पर्छ। तिहारको अवसरमा सरकारले तीन दिन सार्वजनिक विदा दिने गरेको छ।

कागतिहारमा कागलाई घर आँगनमा बोलाइ बिभिन्न परिकारको चारो दिएर पूजा गर्ने चलन छ। यो दिन कागलाई पूजा आजा गरी खान नदिइकन आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । वैदिक सनातन हिन्दू धर्मानुसार कागलाई यमदूतका रुपमा मानिन्छ । यसै दिनदेखि यम दीप दान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ ।

प्रकाशित मिति: सोमवार, कार्तिक १९, २०७५ /Monday, November 5th, 2018, 7:45 am