अकुत सम्पत्ति कमाएकाहरुको नागरिक आयोगले छानबिन गर्ने,कार्वाहीदेखि सम्पत्ति रोक्का गर्ने

काठमाडौ, कात्तिक १८ । अकुत सम्पत्ति कमाएका ब्यक्तिको छानबिन गरि कार्वाही प्रक्रिया अघि बढाउन नागरिक आयोग गठन गरिएको छ । विभिन्न क्षेत्रका विज्ञ टोली सम्मीलित २५ जना सल्लाहकार र ८५ जनाको केन्द्रीय कार्यसमिति गठन भएको हो ।
पञ्चायतकालदेखि हालसम्म सार्वजनिक पद धारण गरी अकूत सम्पत्ती कमाएका शंकास्पद व्यक्तिहरुको नागरिक आयोगमार्फत् छानवीन गरी दोषीलाई कानून बमोजिम दण्ड सजाय गर्ने, भ्रष्टाचारीका सम्पत्ति राष्ट्रियकरण गरी गरिबी निवारण कोष बनाउने लक्ष्यका साथ अभियान सुरु भएको हो ।

यस्तै भेलाले अभियानको नीतिगत निर्णय गरी कार्यक्रमहरु अघि बढाउन ९ सदस्यीय कार्यसञ्चालन समिति (केन्द्रीय सचिवालय) पनि गठन गरेको छ।

अभियानमा विभिन्न क्षेत्रमा रहेर पेशा व्यवसाय गर्दै आएका विज्ञहरु, कानून व्यवसायी, पत्रकार, चिकित्सक, इञ्जिनियर, शिक्षक, विद्यार्थीहरुको सहभागिता रहेको छ।

केन्द्रीय सचिवालयमा वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने, डा. सुरेन्द्र भण्डारी र डा. नारायण घिमिरे सहितका सामाजिक अभियन्ताहरु रहेका छन्।

अभियानले अब देशव्यापी रुपमा संगठन निर्माण गरी स्थानीय तहदेखि सिंहदरबारसम्म संस्थागत रुपमा भइरहेको भ्रष्टाचारको नमूना नागरिक आयोगमार्फत् छानवीन सुरु गर्ने बताइएको छ ।

प्रकाशित मिति: आइतवार, कार्तिक १८, २०७५ /Sunday, November 4th, 2018, 5:51 am