सरकारले नागरिकता ऐनको त्रुटी सच्याउने

बारा, कात्तिक १८ । सरकारले नागरिकता ऐनमा रहेको त्रुटी सच्याउने स्पष्ट पारेको छ ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले नागरिकता ऐनमा रहेको त्रुटी सच्याउन सरकार तयार रहेको बताएका हुन् । बाराको कलैया मा नेकपाको पार्टी कार्यालय उद्घाटन गर्दै उनले नागरिकतामा भएको त्रुटीलाई सच्याएर मधेशी जनतालाई सहज रुपले नागरिकता उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताए ।
मधेशी दलको माग अनुसार संविधान संशोधन गर्न सरकार तयार रहेको उनले जानकारी दिए ।
नेकपा मधेश विरोधी पार्टी नभएको जिकिर गर्दै मन्त्री पोखरेलले संविधान निर्माण भइसके पनि कानून निर्माण नभएकाले सरकार अहिले सरकार गम्भीरतापूर्वक त्यसमै केन्द्रीत रहेको बताए ।
सरकारले चाँडै मुलुकलाई आवश्यक पर्ने कानूनहरु निर्माण गर्ने उनको भनाई छ । संविधान संशोधन नभए राष्ट्रिय जनता पार्टीले छठ पछि सरकारलाई दिएको समर्थन फिर्ता लिने बताइरहेका बेला मन्त्री पाखरेलको उक्त कुरा सार्वजनिक भएको हो ।

प्रकाशित मिति: आइतवार, कार्तिक १८, २०७५ /Sunday, November 4th, 2018, 5:06 am