माथिल्लो तामाकोशीको सेयरमा कति पर्यो आवेदन ?

काठमाडौं, कात्तिक १७ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा लगानीकर्ताले उल्लेख्य सहभागिता जनाएका छन् ।

बिहीबारदेखि बिक्री शुरु भएको साधारण शेयरमा शुक्रबार दिउँसोसम्ममा १ लाख १६ हजारले आवेदन गरेका छन् ।
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले बिक्री शुरु भएको दुई दिनमै मागभन्दा बढी रु दुई अर्ब २२ करोड बराबरको आवेदन परेको हो ।

कम्पनीले सर्वसाधारणका लागि रु एक अर्ब ५८ करोड बराबरको साधारण शेयर बिक्री शुरु गरेको हो । “सरकारी स्वामित्वको कम्पनीमा सर्वसाधारणको उल्लेख्य सहभागिता रहन्छ भन्ने सन्देश गएको छ”, प्रवक्ता डा न्यौपानेले भने ।

कम्पनीले यही कात्तिक १९ गतेसम्म साधारण शेयर बिक्री गर्ने समयसम्म करीब छ गुणाको आवेदन पर्ने अनुमान छ ।
कम्पनीले गत बुधबार मात्रै दोलखावासीका लागि बिक्री गरेको साधारण शेयरको बाँडफाँट गरेको थियो ।

सर्वसाधारणका लागि कम्पनीले १ करोड ५८ लाख ८५ हजार कित्ता शेयर निष्काशन गरेको हो ।

हाइड्रोपावर कम्पनीको आईपिओमा न्यूनतम ५० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

आईपिओमा छिटोमा कार्तिक १९ गतेसम्म र त्यस अवधिमा माग अनुसारको आवेदन नपरेमा मात्र ढिलोमा मंसिर १४ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले निष्काशन गर्न लागेको आईपीओको लागि नागरिक लगानी कोष बिक्री प्रबन्धक छ भने सनराइज क्यापिटल सहबिक्री प्रबन्धक हो ।

नेपालको शेयरबजारमा आएको यो नै शेयर संख्या र रकमको हिसाबले सबै भन्दा ठुलो आईपिओ हो ।

इक्रा नेपालले आईपिओलाई ग्रेड ४ को रेटिंङ दिएको छ । इक्रा नेपालले १ देखि ५ अंक स्केलमा ग्रेडिङ प्रदान गर्दछ, जसमा ग्रेड १ ले बलियो आधारहरु जनाउछ भने ग्रेड ५ ले कमजोर आधारहरु जनाउँछ। ग्रेड २, ३, ४ मा प्रयोग गरिने प्लस चिन्हले त्यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाई जनाउंछ।

कम्पनीले निर्माण गरिरहेको ४५६ मेगावाटको परियोजनामा कम प्रतिफल क्षमता रहेको, नाकाबन्दी, भूकम्प जस्ता विविध कारणले निर्माणमा ढिलाई हुँदा लागत बढ्नु, निर्माणको लागि लागि लिएको ठुलो मात्राको ऋण चुक्ता हुन् समय लाग्ने कारणले गर्द औसत भन्दा कमजोर रेटिंङ पाएको कम्पनीले जनाएको छ । दोलखाको गौरीशङ्कर गाउँपालिका–१ लामाबगरमा निर्माण भइरहेको ४ सय ५६ मेगावाटको तामाकोशी आयोजनाको पूर्व स्वीकृत लागत ३५ अर्ब भए पनि बढेर ४९ अर्ब पुगेको छ । असार मसान्तसम्ममा सिभिलको काम सकेर विद्युत् उत्पादन गर्ने आयोजनाको लक्ष्य राखेको छ । डिसेम्बर २०१८ देखि नियमित उत्पादन शुरु भए पनि सबै निर्माण सक्न थप ६ महिना लाग्नेछ ।

आयोजनामा नेपाल विद्युत् प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६, नागरिक लगानी कोष तथा राष्ट्रिय बिमा संस्थानको २–२ प्रतिशत, कर्मचारी सञ्चयकोषको १७ दशमलव २८, स्थानीयबासीको १० प्रतिशत, सर्वसाधारणको १५, कर्मचारी सञ्चय कोषका कर्मचारीको २ दशमलव ८८, कम्पनी र प्राधिकरणका कर्मचारीको ३ दशमलव ८४ प्रतिशत शेयर स्वामित्व रहनेछ।

कम्पनीले यस अघि स्थानीय वासिन्दाको लागि निष्काशन गरेको १ करोड ५ लाख ९० हजार कित्ता शेयर बुधबार बाँडफाँड गरेको छ ।

कहाँबाट आवेदन दिने ?
आइपिओमा धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट ७७ जिल्लाबाटै आवेदन गर्न सकिने व्यवस्था रहेको छ । मेरो शेयर प्रयोगकर्ताले पनि अनलाईबाटै आइपिओमा आवेदन दिन सक्नेछन् ।

कसले आवेदन दिन पाउने ?
यस अघि आवेदन दिएका नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम, नागरिक लगानी कोष तथा राष्ट्रिय बिमा संस्थान, कर्मचारी सञ्चयकोषका कर्मचारी र स्थानीयबासीले आवेदन दिन नपाइने विक्री प्रबन्धकले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, कार्तिक १७, २०७५ /Saturday, November 3rd, 2018, 8:09 am