आधुनिकतासँगै तिहारमा आएको परिवर्तन

काठमाडौँ, कात्तिक १७ । तिहारको मौलिक र सांस्कृतिक पक्ष आधुनिकतासँगै पहिलेभन्दा धेरै कुराले फरक आएको छ । आधुनिकतासँगै तिहार पर्वमा अनेक खालका विकृति थपिन थालेका छन् । नेवारको म्हः पूजाको मण्डप र भाइपूजाका बेला राखिने तेलको रेखीले दीर्घायुको कामना गर्ने संस्कृतिविद् तथा भाषाविद् गणेशराम लाछी बताउउछन् ।

‘परम्परा वा वैदिक तरिकाले पूजा गर्ने, अष्ट चिरञ्जीवीलाई आह्वान गर्ने परम्परा करिब उस्तै छ, तर पूजामा प्राकृतिक फूलभन्दा कृत्रिम प्लास्टिकका फूल र झल्लरको प्रयोग बढेको छ, यो त्यति उचित होइन,’ लाछीको अनुभव छ ।

उनका अनुसार उहिले प्राकृतिक फूल र खनिजले टीका बनाइन्थ्यो तर अहिले त्यो लोप भइसकेको छ ।

‘अहिले टीका नै बनावटी भएको छ,’ लाछी थप्छन्, तिहारमा सगुनका रूपमा आदानप्रदान गरिने ओखर, कटुस, बदाम, बयरजस्ता फलको स्थान अहिले चकलेट, बिस्कुट आदिले लिदा मौलिकतामा ह्रास आएको छ ।

सयपत्री फूलको हरेक पत्रले तिहारको छुट्टै सान देखाउँछ । मखमली फूल दीर्घायुको प्रतीक मानिन्छ । ‘प्लास्टिकको फूल प्राकृतिक फूलको तुलनामा कुनै ढङ्गले पनि राम्रो नभएको बताउँदै स्वास्थ्यका हिसाबले पनि राम्रो होइन र तिहारको पौराणिक महत्वका हिसाबले पनि नराम्रो भएको उनले बताए ।

संस्कृतिविद् सत्यमोहन जोशी भन्छन्, ‘दसैंमा मालश्री धुनको महत्व बढी हुन्छ भने तिहारमा मादलको धु्नसँगै रमाइलो गरिन्छ । हाम्रो परम्परा जोगाउन अहिलेको युवापुस्ता नै सचेत हुनुपर्छ ।

उनले बाल्यकाल सम्झदै भने, ‘गाउँबेंसीमा तरुनातन्नेरीसँग मिलेर रातभर घुम्दै देउसीभैलो खेल्दा रात बितेको पत्तो पाइँदैन्थ्यो ।’ सूर्यपुत्र यमराज र यमुनाको सम्बन्धले मत्र्यलोकमा पनि दाजुभाइ र दिदीबहिनीबीच सम्बन्ध सुमधुर बनेको हुन्छ ।

यमुनाले ‘जुन बेलासम्म तेल सुक्दैन यो मखमली ओइलाउँदैन, मेरो दाजु यमराजलाई कालले पनि छुन नपाओस् भन्दै आशीष दिन्छन् । त्यही दिन यमराजले पनि आफ्नो काम छाडेर एक दिन बहिनीका घरमा बिताएको किम्बदन्ती भएको जोशी बताए ।

तर यो किम्वदन्तीमा मात्र सीमित भइसकेको छ । अहिलेको नयाँपुस्तालाई यसको महत्वबारे केही पत्तो नभएको उनको भनाइ छ । गोरखापत्र दैनिकबाट

प्रकाशित मिति: शनिबार, कार्तिक १७, २०७५ /Saturday, November 3rd, 2018, 6:58 am