बागमती गाउँपालिका कार्यालय सहयोगीको भरमा, टेलिकमले वहाल कर बुझाउन पाएन

रामहरि कार्की/ललितपुर, कात्तिक १५ । ललितपुरको बागमती गाउँपालिका ३ दिनदेखि कार्यालय सहयोगीको भरमा सञ्चालन भैरहेको छ । जिम्मेवार जनप्रतिनिधिहरु तथा सेवा प्रदान गर्ने कर्मचारीहरु कार्यालयमा नहुँदा सेवाग्राही सेवा पाउनबाट बञ्चित भएका थिए भने टाढाटाढाबाट गाउँपालिकाको कार्यालयमा आएका स्थानीय सेवाग्राहीहरु विनाकाम फर्कन बाध्य भएका छन् । नेपाल टेलिकमका कर्मचारी टेलिकमको रिपिटर टावर राखेको बापतको बहाल कर बुझाउन कार्यालयमा आएका थिए । बहाल कर लिने कर्मचारी नहुँदा गाउँपालिकाबाट त्यसै फर्कन बाध्य भए । ती कर्मचारीले भने– ‘यसरी कार्यालय नै बन्द गरेर अध्ययन भ्रमण जानु राम्रो होइन ।’ ‘आफू बबरमहलबाट यत्रो लामो यात्रा गरेर गाउँपालिका कार्यालय भएको स्थानमा आएको र गाउँपालिकाबाट पाउनु पर्ने सेवा पाइन ।’ दुःखेसो पोख्दै उनले भने । बिहीबार गाउँपालिकाको कार्यालयमा दैनिकीन्युजकर्मी पुग्दा सहयोगी विनोद दाहालमात्रै भेटिए ।

गाउँपालिका कार्यालयमा अध्यक्षलगायत कर्मचारी नहुँदा महत्वपूर्ण सेवा लिन पुगेका सेवाग्राही फर्कन बाध्य भएको कार्यालय सहयोगी विनोद दाहालले बताए । ‘अध्यक्ष, उपाध्यक्षसहित सबै कर्मचारी मंगलबारदेखि भ्रमणमा गएकाले त्यही दिनदेखि सेवाग्राही सेवाबाट बञ्चित भएका छन् ।’ उनले भने, ‘प्रत्येक दिन दिन १५/२० जना सेवाग्राही आउँछन्, तर कार्यालयमा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत नभएको देखेपछि निराश भएर फर्कन्छन् ।’

इकुडोलका स्थानीय भीमसेन आचार्यले गाउँपालिकाको सम्पूर्ण कार्यालय सहयोगीको भरमा छोडेर भ्रमण जानु ठिक नभएको बताए । उनले भने, – ‘विकासको बजेट काटेर जनताले चुनेका जनप्रतिनिधि र जनताले तिरेकै करबाट तलब भत्ता बुझ्ने कर्मचारीले मनोमानी रुपमा व्यक्तिगत प्रभाव बढाउन र सेल्फी खिच्नकै लागि बजेटको दुरुपयोग गर्नु भनेको संघीय लोकतान्त्रिक गणतन्त्रकै उपहास हो ।’ ‘सिंहदरवारको अधिकार गाउँ गाउँमा पुर्याएको विकासका लागि हो । तर यहाँ जनप्रतिनिधि र कर्मचारीहरु फाइदाका लागि निरर्थक भ्रमणमा जनताले तिरेको करको दुरुपयोग गर्नु अन्यन्तै निन्दनीय कार्य हो ।’

भ्रमणका नगएका वडा नं. १ का अध्यक्ष जगतबहादुर लोलाई निमित्त अध्यक्षको जिम्मेवारी दिएको बुझिए पनि उनी गाउँपालिकाको कार्यालय पुगेका छैन । यससम्बन्धमा दैनिकीन्युजले उनीसँग सम्पर्क गर्दा आफूलाई गाउँपालिका अध्यक्षले मौखिक रुपमा भनेको र लिखित कुनै जिम्ेवारी नदिएको बताए । उनले भने, ‘लिखित दिएको छैन, कसरी मैले कार्यालय छाप र लेटरप्याड प्रयोग गर्नु ?’

कात्तिक १३ गतेदेखि गाउँपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाअध्यक्षहरु, शिक्षा, स्वास्थ्य, पशु, कृषिका कर्मचारीसहित ३३ जनाको जम्मोटोली पूर्वी नेपालको ४ वटा स्थानीय तहको अध्ययन अवलोकन भ्रमणका गएका छन् ।

गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ३ का वडाअध्यक्ष विष्णुप्रसाद तिमल्सिनाले भ्रमणको लागि कति बजेट छुट्टाइएको हो भन्ने कुरा आफूलाई थाहा नभएको बताए । यस विषयमा उनले प्रमुख प्रशासकीय अधिकृत सेजुवालसँग सम्पर्क गर्न अनुरोध गरे ।

प्रमुख प्रशासकीय अधिकृत वरदान सेजुवालले भ्रमणका लागि अनुमानित ५ लाख खर्च हुने र भ्रमणमा ३३ जना सहभागी भएको जानकारी दिए । उनले भने– ‘भ्रमण ५ दिनको हुनेछ । ५ दिनमा धनकुटाको १ वटा, झापाको २ वटा र इलामको १ स्थानीय तहको हुनेछ, ती स्थानीय तहले गरेको राम्रा काम हामीले सिक्न देख्छ पाइनेछ ।’

गाउँपालिकामा सेवा लिन आएका एक सेवाग्राहीले यसरी गाउँपालिकाको कामलाई नै प्रभावित बनाएर अध्यक्ष, उपाध्यक्षसहित अधिकांश कर्मचारी एकै पटक जिल्ला बाहिर भ्रमणमा जानु गलत भएको बताए । ‘जनप्रतिनिधिहरुले संघीयतालाई दुरुपयोग गरे । यसरी संघीयता सफल हुन सक्दैन ।’ उनले भने ।

भ्रमणटोलीमा वडा नं. १ का वडा अध्यक्ष जगत बहादुर लो, वडा नं. २ का वडाअध्यक्ष विजय कुमार लो र वडा नं. ३ का वडाअध्यक्ष विष्णु प्रसाद तिमल्सिना र वोर्ड सदस्य पानामाया घुम्बा गएका छैनन् ।

कर्मचारीमा बेथिति, हाजिर नै नियमित छैन, प्रबक्ता भन्छन् कर्मचारीलाई कसरी हाजिर गर्ने भनेर थाहा नहुन सक्छ
बागमती गाउँपालिकामा कार्यरत कर्मचारीहरु लामो समयसम्म कार्यालयमा नआएको हाजिरी कपिबाट प्रष्ट हुन्छ । गाउँपालिमा कार्यरत कर्मचारीहरु मिलन शर्मा घिमिरे कात्तिक १ गतेदेखि हाजिर नभएको, ईश्वरी तिमल्सिना कात्तिक १२ देखि, एण्डी जिम्मा कात्तिक ८ देखि, जमुना थिङ कात्तिक ११ देखि, वरदान सेजुवाल कात्तिक ६–८ र कात्तिक १२ देखि, राजकुमार सापकोटा कात्तिक १२ देखि, वीरेन्द्र भण्डारी कात्तिक १ देखि, कृष्ण सञ्जेल कात्तिक ६–८ र कात्तिक १२ देखि अनुपस्थिति रहेको देखिन्छ । गाउँपालिकामा कार्यरत कार्यालय सहयोगीले भने दैनिकीन्युजकर्मी पुगेपछि ५ दिनको हाजिर एकै दिनमा गरेका थिए ।

त्यसैगरी बागमती–३ मा कार्यरत कर्मचारी राजु थापा कात्तिक १२, सरस्वती घिमिरे कात्तिक १३ गतेदेखि, सावित्रा खड्का कात्तिक ८ गतेदेखि हाजिर भएका छैनन । वडा सचिव सूर्य बहादुर राउतले गत ५ दिनको विदा माग गरेतापनि उनी असोज २५ गतेदेखि अनुपस्थिति रहेका छन् । वडा कार्यालयमा एक कर्मचारीका अनुसार उनी १ वर्षदेखि वडा कार्यालयमा कार्यरत भएतापनि कहिलेकाँही कार्यालयमा आउने गरेको, एकमुष्ट हाजिर गर्ने बताए । ‘राउत प्रमुख प्रशासकीय अधिकृत बरदान सेजुवालको विश्वासिलो कर्मचारी भएकोले हामीले विरोध गर्न सक्दैनौ ।’ उनले भने । यस सम्बन्धमा प्रवक्ता विष्णु तिमल्सिनासँग सम्पर्क गर्दा कसरी हाजिर गर्ने भनेर थाहा नहुन सक्छ भनेर बताए ।

हेर्नुहोस हाजिर कस्तो कस्तो छ

यो पनि पढ्नुहोस्

गाउँपालिकाको काम ठप्प पार्दै निरर्थक भ्रमणमा जनप्रतिनिधि र कर्मचारी

प्रकाशित मिति: बिहिबार, कार्तिक १५, २०७५ /Thursday, November 1st, 2018, 8:45 pm