अफगानिस्तानसँगको खेल रद्द

काठमाडौं, कात्तिक १४ । अफगानिस्तानसँग खेल्ने तयारी गरिएको मैत्रीपूर्ण फुटबल खेल रद्द भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले मङ्सिर २७ गते अफगानिस्तानसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलको मिति तय गरेको थियो । तर अन्तिम समयमा आएर अफगानिस्तानले नेपालसँगको मैत्रीपूर्ण खेलमा सहभागिता नजनाउने निर्णय गरेको एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए ।

‘प्राविधिक कारणले उनीहरुले नेपालसँगको खेल रद्द गरेको जानकारी एन्फालाई दिएका छन्, थप कुरा बुझ्ने काम भइरहेको छ’, उनले भने । एन्फाले राष्ट्रिय फुटबल टोलीलाई वर्षभरि व्यस्त राख्न भन्दै विभिन्न देशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको तालिका यसअघि सार्वजनिक गरेको थियो । –रासस

प्रकाशित मिति: बुधबार, कार्तिक १४, २०७५ /Wednesday, October 31st, 2018, 6:11 pm