गाउँपालिकाको काम ठप्प पार्दै निरर्थक भ्रमणमा जनप्रतिनिधि र कर्मचारी

रामहरि कार्की/ललितपुर, कात्तिक १४ । ललितपुरको बागमती गाउँपालिकाका प्रमुख, उपप्रमुख, वडाअध्यक्षहरु र कर्मचारीसहित ३३ जनाको जम्मोटोली मंगलबारदेखि अवलोकन भ्रमणमा जिल्ला बाहिर गएका छन् । गाउँपालिकाका अध्यक्षदेखि वडा सदस्यहरु र प्रमुख प्रशासकीय अधिकृतदेखि कार्यालय सहयोगीसम्मका कर्मचारीहरु मंगलबारदेखि शनिबारसम्म (५ दिने) पूर्वी नेपालको भ्रमणमा निस्केका हुन् ।

गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चन, उपाध्यक्ष रञ्जना घिमिरे, प्रमुख प्रशासकीय अधिकृत वरदान सेजुवाल, वडा अध्यक्षहरु, वडा सचिवहरु, कर्मचारीसहित ३३ जनाको टोली अवलोकन भ्रमणमा जाँदा मंगलबारदेखि गाउँपालिकाको काम प्रभावित भएको छ ।

गाउँपालिका कार्यालयमा २१ जना कर्मचारी कार्यरत छन् । स्वास्थ्य, शिक्षा, प्रशासकिय अधिकृत वडा सचिवहरु, नायव सुब्बा, लेखापाल, सामाजिक परिचालक, खरिदार, कर्मचारी लिएर गाउँपालिका अध्यक्ष लोप्चन मंगलबारदेखि इटहरी, दार्जलिङसम्मको ५ दिने भ्रमणमा गएका हुन् ।

भ्रमणका लागि ५ लाख रुपैयाँ खर्च गाउँपालिकाबाटै निकासा गरिएको बुझिएको छ । गतवर्ष पनि भ्रमणको लागि भनेर ५ लाख रकम विनियोजन गरिएको थियो । तर कोही पनि भ्रमणमा नगएपछि रकम फ्रिज भएको एक कर्मचारीले बताए । उनले भने– ‘यस वर्ष नीति तथा कार्यक्रममा भ्रमण राखिएको थियो तर बजेट भने विनियोजन गरिएको थिएन । खोई कसरी मिलाए प्रमुख प्रशासकीय अधिकृतले ?’ ‘प्रशासकीय अधिकृत असोजको मध्यतिर हजुरबुबाको चौरासी पुजा छ भन्दै घर गए र दशैपछि घरबाट कार्यालयमा आउने वित्तिकै भ्रमणको योजना बनाए, त्यो पनि विना छलफल ।’

गाउँपालिकाका अध्यक्षलाई प्रभावमा पारेर प्रशासकीय अधिकृत सेजुवालले गाउँपालिकामा आफू अनुकुलको काम गराउने गरेको पनि बुझिन आएको छ । नाम उल्लेख गर्न नचाहने इकुडोलका एक स्थानीयले भने, ‘गाउँपालिकाका धेरै जसो लक्षित कार्यक्रमका बजेटहरु उपलब्धि बिहिन काममा खर्च हुने गरेको छ । सिंहदरवारको अधिकार गाउँमा हैन, कर्मचारी र जनप्रतिनिधिको मनोमानीमा चाहिँ आएकै रहेछ भन्ने बुझ्नु प¥र्यो ।’

प्रमुख प्रशासकीय अधिकृत वरदान सेजुवालले भ्रमणका लागि अनुमानित ५ लाख खर्च हुने र भ्रमणमा ३३ जना सहभागी भएको जानकारी दैनिकीन्युजसँगको कुराकानीमा बताए । उनले भने– ‘भ्रमण ५ दिनको हुनेछ । ५ दिनमा धनकुटाको १ वटा, झापाको २ वटा र इलामको १ स्थानीय तहको हुनेछ, ती स्थानीय तहले गरेको राम्रा काम हामीले सिक्न देख्छ पाइनेछ ।’

गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरु, वोर्ड सदस्यहरु, कर्मचारी र वडा सचिव जिल्ला बाहिर भ्रमणमा गएकाले गाउँपालिकाको सेवा लिन पुगेका सेवाग्राही रित्तै हात फर्कन बाध्य भएका छन् ।

गाउँपालिका कार्यालयमा अध्यक्षलगायत कर्मचारी नहुँदा निराश भएर फर्कन बाध्य भएको एक सेवाग्राहीले बताए । ‘अध्यक्ष, उपाध्यक्षसहित सबै कर्मचारी मंगलबारदेखि भ्रमणमा गएकाले त्यही दिनदेखि कार्यालय बन्द छ’, उनले भने, ‘हरेक दिन १५÷२० जना मान्छे काम लिएर आउँछन, तर कार्यालयमा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत नभएको देखेपछि निराश भएर फर्कन्छन् ।’
इकुडोलका स्थानीय राजेश घिमिरेले यसरी गाउँपालिकाको कामलाई नै प्रभावित बनाएर अध्यक्ष, उपाध्यक्षसहित अधिकांश कर्मचारी एकै पटक जिल्ला बाहिर भ्रमणमा जानु गलत भएको बताए ।

स्वास्थ्यका कारण दर्शाउदै वडाअध्यक्षहरु विष्णु तिमल्सिना, विजय कुमार लो, जगत बहादुर लो र वोर्ड सदस्य पानामाया घुम्बा भ्रमण गएनन् ।

यसअघि पनि कोन्ज्योसोम गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष तिर्थ लामा, गोदावरी नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष विष्णुमान महर्जन पनि कार्यालय नै बन्द गरेर भ्रमणमा निस्केका थिए ।

यस विषयमा जानकारी लिनका लागि अनुगमन गर्ने जिम्मेवारी पाएको निकाय जिल्ला समन्वयन समिति ललितपुरका प्रमुख अम्बर बहादुर खड्कासँग जानकारी लिन खोज्दा उनी दैनिकीन्युजको सम्पर्कमा आउन चाहेनन् ।

निरर्थक भ्रमण

गाउँपालिकाले स्थानीय जनतालाई प्रदान गर्ने सेवा सुविधा र कामको सम्बन्धमा यो भ्रमणको कुनै अर्थ समेत छैन । विकासको बजेट काटेर जनताले चुनेका जनप्रतिनिधि र जनताले तिरेकै करबाट तलब भत्ता बुझ्ने कर्मचारीले मनोमानी रुपमा व्यक्तिगत प्रभाव बढाउन र सेल्फी खिच्नकै लागि बजेटको दुरुपयोग गर्नु भनेको संघीय लोकतान्त्रिक गणतन्त्रकै उपहास हो । सिंहदरवारको अधिकार गाउँ गाउँमा पुर्याएको विकासका लागि हो । तर यहाँ जनप्रतिनिधिहरुको हवाला दिदै कर्मचारीहरुले आफ्ना लाभको प्रयोजनको लागि निरर्थक भ्रमणमा जनताले तिरेको करको दुरुपयोग गर्नु अन्यन्तै निन्दनिय कार्य हो ।

भ्रमण टोलीका सदस्यहरुः

१. गाउँपालिका अध्यक्षः वीर बहादुर लोप्चन
२. गाउँपालिका उपाध्यक्षः रञ्जना घिमिरे
३. प्रमुख प्रशासकीय अधिकृतः वरदान सेजुवाल
४. वडा नं. ७ वडा अध्यक्षः नवराज सञ्जेल
५. वडा नं. ६ वडा अध्यक्षः लाल बहादुर भोम्जन
६. वडा नंं. ५. वडा अध्यक्षः साजन दर्लामी मगर
७. वडा नं. ४ वडा अध्यक्षः नारायण बहादुर घले
८ गाउँपालिका वोर्ड सदस्यः कुमारी माया मोक्तान
९.गाउँपालिका बोर्ड सदस्यः मैया दुलाल
१०. गाउँपालिका बोर्ड सदस्यः इमान सिं घले
११. गाउँपालिका बोर्ड सदस्यः मदन वि.क
१२. वडा नं. १ का वडा सचिव सहदेव गिरी
१३. स्थानीय शिक्षाका संयोजकः लोकेन्द्र विष्ट
१४ स्वास्थ्यका कर्मचारी : राजकुमार सापकोटा
१५. लेखाप्रमुख मनोज बस्नेत
१६. सहलेखापाल कृष्ण सञ्जेल
१७. सूचना तथा सञ्चार प्रविधि अधिकृत मिलन शर्मा घिमिरे
१५.वडा नं. ६ का कार्यालय सहायक दामोदर घिमिरे
१६. खरिदार दिलिप चौधरी
१७. वडा नं. ३ का कार्यालय सहायक राजु थापा
१८.नायव सुव्बा काशी प्रसाद दाहाल
१९ वडा नं. ५ का कार्यालय सहायक रमेश तिमल्सिना
२०. नायव सुव्बा विमल कोइराला
२१. नायव सुव्बा देवप्रसाद श्रेष्ठ
२२ नायव सुव्बा रुद्र मरासैनी
२३. खरिदार सरोज मरसिनी
२४. सव ओभरसियर इश्वरी तिमिल्सिना
२५. जमुना थिङ
२६. एन वी जिम्मा
२७. दिपक दाहाल
भ्रमण टोलीमा सहभागी भएका अन्य ६जनाको नाम भने प्राप्त हुन सकेन ।

भ्रमणका क्रममा खिचिएर सामाजिक सञ्जालमा वडा सचिव काशी प्रसाद दाहालले राखेका केही तस्विरहरु

प्रकाशित मिति: बुधबार, कार्तिक १४, २०७५ /Wednesday, October 31st, 2018, 10:51 am