‘विद्यार्थी ल्याऔँ, टिकाऔँ र सिकाऔँ’

काठमाडौं, कात्तिक १४ । मकवानपुरको वागमती गाउँपालिकाले १४ बुँदे शैक्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

गाउपालिकाले गाँउपालिका शिक्षा परामर्शसभाको आयोजना गर्दै शिक्षाको गुणस्तरवृद्धि गर्न शैक्षिक नीति र कार्यक्रम बनाएको हो।

आधारभूत तहदेखि नै प्राविधिक तथा व्यवसायिक शिक्षामा जोड दिने, गाउँपालिकाले बाल विकास केन्द्रहरुको स्थापना तथा सञ्चालनमा सुधार ल्याउने, खेल सामग्री, सिकाइ सामग्री, मनोरञ्जन अडियो, भिडियोको सामग्रीको व्यवस्था, मन्टेश्वरी विधिबाट सहजकर्ताको तालिमको व्यवस्था गरी शिक्षण सिकाइने शिक्षा नीति तथा कार्यक्रममा उल्लेख छ।

प्रधानाध्यापकहरुको व्यवस्थापकीय एवम् नेतृत्व क्षमता बढाउन, शिक्षण सिकाइ प्रक्रियामा सुधार, विद्यार्थी मूल्यांकन प्रणालीमा सुधार गर्ने, शिक्षक तालिम तथा पेसागत क्षमतामा सुदृढीकरण र शिक्षक प्रशंसा तथा उत्प्रेरित गर्ने नीति लिइने भएको खबर गोरखापत्र दैनिकमा छ।

त्यस्तै विद्यार्थी ल्याऔँ, टिकाऔँ र सिकाऔँ अभियानलाई निरन्तरता दिने, विद्यार्थीको स्वास्थ्य तथा व्यक्तित्व विकासका लागि अतिरिक्त क्रियाकलापमा प्राथमिकता दिने, एक विद्यालय एक बगैँचा कार्यक्रम सञ्चालन गर्ने जस्ता नीतिहरु गाउँपालिकाले लिएको छ।

प्रकाशित मिति: बुधबार, कार्तिक १४, २०७५ /Wednesday, October 31st, 2018, 7:01 am