नेपाल बंगलादेशसँग पराजित

फोटो गुगलबाट

काठमाडौं कात्तिक १२ । साफ यु–१५ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ। समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग २–१ ले पराजित भए पनि नेपाल सेमिफाइनल प्रवेश गरिसकेको छ।

नेपालले अब फाइनल प्रवेशका लागि पाकिस्तानविरुद्ध प्रतिष्पर्धा गर्ने छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा बंगलादेश अधिकांश समय दश खेलाडीमा सीमित भएको थियो। तर उसले दश खेलाडीका बाबजुत नेपालविरुद्ध दोस्रो हाफमा गोल गर्दे महत्वपूर्ण अग्रता बनाउन सफल भयो। जितसँगै बंगलादेश समूह ए को अंक तालिकामा ६ अंक जोड्दै शीर्ष स्थानमा रहँदा नेपाल उपविजेता बन्दै ३ अंकका साथ सेमिफाइनलमा स्थान बनाउन सफल भयो।

पहिलो हाफको ३३ औं मिनेटमा बंगलादेशका गोलकिपर मितुर मर्माले नेपाली खेलाडी राकेश विश्वकर्मालाई लडाएपछि उनी सिधै रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए। जारी प्रतियोगितामा रातो कार्ड खाने उनी पहिलो खेलाडी हुन्।

रातो कार्डले बंगलादेशले खेलाडी मात्र गुमाएन नेपालले गोल गर्ने मौका समेत पायो। पाएको पेनल्टीलाई जान लिम्बूले प्रहार गर्दै खेल १÷१ बराबरीमा ल्याए। तर त्यसपछि पनि बंगलादेशले आफ्नो राम्रो लयलाई कायम राख्यो।

१० खेलाडीकै अवस्थामा दोस्रो हाफमा अग्रता दोब्बर बनायो। बंगलादेशले नेपालको घरेलु मैदानमा सुरुवातमा नै गोल गर्न सफल भयो। खेल सुरु भएको दोस्रो मिनेटमानै अहद सकिलको गोलबाट बंगलादेशले अग्रता लिएको थियो। तर ३६ औ मिनेटमा बंगलादेशको गल्तीमा नेपालले बराबरी गरे पनि त्यसपछि नेपाल प्रभावसाली देखिएन।

नेपालको कमजोर डिफेन्स लाइनअप तथा आक्रामक फवार्ड नहुँदा संभावित जितबाट विमुख हुनु परेको थियो। नेपालको कमजोर डिफेन्सको फाइदामा नै बंगलादेशले दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमानै गोल गरेका थियो।

बंगलादेशका लागि पाजल हउलाडरले गरेको गोलनै निर्णायक बनेको थियो। त्यसपछि नेपाल खेलमा फर्कन सकेन भने बंगलादेशले अग्रता जोगाउन सफल भयो। नेपालले अब सेमिफाइनलमा पाकिस्तानसँग प्रतिष्पर्धा गर्दा बंगलादेशले भारतको सामना गर्ने छ।

प्रकाशित मिति: सोमवार, कार्तिक १२, २०७५ /Monday, October 29th, 2018, 10:21 pm