प्रहरीसँग साझेदारी गर्न ललितपुर महानगर तयार, एमओयुमा हस्ताक्षर (फोटोफिचर)

ललितपुर, कात्तिक १२ । नेपाल सरकारको केन्द्रीय रणनीतिअनुसार सामुदाय प्रहरी साझेदारी कार्यक्रम ललितपुर महानगरमा शुरु भएको छ ।

महानगरीय प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले ललितपुर महानगरमा पनि उक्त कार्यक्रम शुरु भएको बताए। उनका अनुसार प्रहरी र समुदायबीच सहज रुपमा समन्वय गराउन कार्यक्रम शुरु गर्न लागिएको हो। प्रहरीसँग अनुभव र महानगरसँग उर्जा भएको बताउँदै दुवैको सदुपयोग हुनुपर्ने औल्याए ।

आइतबार ललितपुर महानगरका नगर प्रमुख चिरीबाबु महर्जन र महानगरीय प्रहरी कार्यालयका नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले साझेदारी पत्र (एमओयु) मा हस्ताक्षर गरेका हुन्।

समुदाय प्रहरीबीच आपसी सम्बन्ध बलियो बनाएर शान्ति सुरक्षा सुदृढ गर्ने लक्ष्यका साथ गृहमन्त्रालयले देशभर समुदाय प्रहरी साझेदारी कार्यक्रम शुरु गरेको छ । महानर प्रमुख महर्जनले स्थानीय तह र प्रहरीबीच साझेदारीले शान्ति सुरक्षाको अवस्था सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा व्यक्त गरे। उनले शान्ति सुरक्षाको सवालमा प्रहरी कार्यालयसँग साझेदारी गरिएको र यसबाट शान्ति सुरक्षाको अवस्था सुदृढ हुने बताए।

‘जनतालाई शान्ति सुरक्षाको अनुभूति हुने गरी प्रहरी कार्यालयसित साझेदारी गरिएको छ, त्यसका लागि महानगरबाट हुने सबै सहयोग गर्छौ’ महानगर प्रमुख महर्जनले भने।

सम्झौता पत्रमा हस्ताक्षर गर्दै प्रहरी नायब महानिरीक्षक थापा क्षेत्रीले शान्ति सुरक्षा बलियो बनाउन समुदायसित सहकार्य गरी कार्यक्रम सञ्चालनका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम गरिएकाले स्थानीय सरकारसित साझेदारीका लागि सम्झौता गरिएको बताए।

उनले भने, ‘प्रहरी जनताको सुरक्षाका लागि हो, प्रहरी समुदायमा काम गर्छ, समुदाय र प्रहरी हरेक कार्यमा हातमालो गरी जान चाहन्छ, त्यसका लागि कार्यक्रम गरिएको छ। ‘यो कार्यक्रमलाई बलियो बनाउन महानगरसंग सम्झौता गरेका छौ, यसबाट शान्ति सुरक्षाको अवस्था बलियो र समुदायसंग प्रहरीको सम्बन्ध बलियो हुन्छ।’

महानगरिय प्रहरी परिषद् ललितपुरका प्रमुख रविन्द्र धानुकले सामुदाय प्रहरी साझेदारी कार्यक्रमको अवधारणमाथि प्रकाश पारेका थिए ।

गृहमन्त्रालयले अपराध रोकथाम, सामाजिक विकृति विंगति विरुद्ध जनचेतना फैलाउन, सुरक्षा व्यवस्थापनमा सहयोग अभिवृद्धि गरी सामुदायिक सुरक्षा अभिवृद्धिका लागि देशभर कार्यक्रम सञ्चालन भैरहेको छ ।

प्रकाशित मिति: सोमवार, कार्तिक १२, २०७५ /Monday, October 29th, 2018, 8:12 pm