आँखुखोला हाइड्रोपावरको आइपीओ यसरी भयो बाँडफाँट

काठमाडौं, कात्तिक ११ । आँखुखोला जलविद्युत कम्पनीको आइपीओ बाँडफाँट आइतबार भएको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार सबै आवेदकले आँखुखोलाको शेयर पाएका छन् ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार ४७ हजार ४ सय आवेदकले २० कित्ता शेयर प्राप्त गरेका छन् भने ३५ हजार ९ सय १६ आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार प्रत्येक आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँड गर्नुपर्ने प्रावधान रहेको छ । यसरी बाँडफाँड गरेर बाँकी रहेको खण्डमा फेरि १० कित्ताको दरले नै बाँडफाँड गरिने र अपुग भएमा गोलाप्रथाबाट १० कित्ताका दरले बाँडफाँड गर्नुपर्ने व्यवस्था रहेको छ

यता, कर्मचारीका लागि छुट्याइएको २७ हजार ५२० कित्ता सेयरमा भने जम्मा ५ जना कर्मचारीले ५९ कित्ताका लागि मात्र आवेदन दिएका छन् । यसर्थ, कर्मचारीलाई छुट्याएर बाँकी रहेको २७ हजार ४६१ कित्ता पनि सर्वसाधारणलाई बाँडिएको हो । यो आइपीओमा ६१ जना आवेदकको आवेदन रद्द भएको छ ।

यो आइपीओमा ८३ हजार ३१६ जनाले ५६ लाख ६६ हजार ५५० कित्ताका लागि आवेदन दिएका थिए । यो माग भन्दा ४ दशमलव ४३ गुणा बढी हो । आँखुखोलाले असोज २३ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि १०० रुपैयाँ दरमा १३ लाख ७६ हजार २० कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो ।

आँखुखोलाले यसअघि आयोजना प्रभावित धादिङ जिल्लाका स्थानीयलाई निष्कासन गर्दा बिक्री नभएको १ लाख ७६ हजार २० कित्ता समेत जोडेर आइपीओ निष्कासन गरेको हो । कम्पनीले धादिङ जिल्लाबासीका लागि ८ लाख कित्ता आइपीओ बिक्री खुला गर्दा ६ लाख २३ हजार ९८० कित्ता सेयरमा मात्र आवेदन परेको थियो । आँखुखोलाले जारी पुँजीको १५५ आइपीओ सर्वसाधारणलाई बिक्री खुला गरेको हो ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले पनि आँखुखोलाको आइपीओलाई ग्रेड ५ रेटिङ दिएको छ । कम्पनीले आँखुखोलाको पानीबाट ८।४ मेगावाट जलविद्युत उत्पादन गर्ने उदेश्य अनुरुप २०७० साल भदौ ८ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरेको हो । कम्पनीको विद्युत उत्पादन केन्द्र धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा रहेको छ । रजिष्ट्रार कार्यालय भने काठमाडौं नक्सालमा छ ।

गत आर्थिक वर्षको अन्त्यसम्म यस कम्पनीले १ करोड ५४ लाख २५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । आँखुखोलाले आर्थिक वर्ष २०७७।७८ सम्म खुद नाफा ३ करोड ३६ लाख ५ हजार पुर्याउने प्रक्षेपण गरेको छ । यस अवधिमा प्रतिसेयर आम्दानी ४ रुपैयाँ २० पैसा पुर्याउने प्रक्षेपण छ ।

प्रकाशित मिति: आइतवार, कार्तिक ११, २०७५ /Sunday, October 28th, 2018, 1:21 pm