थापाथली क्याम्पस कीर्तिपुर सारिँदैं

काठमाडौं, कात्तिक ११ । राजधानीको थापाथलीस्थित इन्जिनियरिङ क्याम्पस त्रिभुवन विश्वविद्यालय रहेको कीर्तिपुर क्षेत्रमा सारिने भएको छ । ठाउँ साँघुरो भएकाले स्थानान्तरण गर्न लागिएको क्याम्पस प्रशासनले जनाएको छ ।

सडक विभागले क्याम्पस परिसरसँग जोडेर फ्लाइओभर ९गाडी गुड्ने आकाशेपुल० बनाउने योजना तयार पारेपछि क्याम्पस प्रशासनले स्थानान्तरण गर्ने निर्णय लिएको हो। विभागले जापानी सहयोग नियोग (जाइका) को सहयोगमा गरेको अध्ययनअनुसार क्याम्पसको १० रोपनी जग्गा आकाशे पुलले ओगट्ने छ।

बाँकी जग्गामा क्याम्पसलाई पूर्वाधार बनाउन साँघुरो हुने भएकाले कीर्तिपुर सार्ने गुरुयोजना बनेको इन्जिनियरिङ अध्ययन संस्थानका डिन त्रिरत्न वज्राचार्यले बताए।
क्याम्पसमा कक्षाकोठा, पुस्ताकालय, ल्याबलगायत पूर्वाधार बनाउन आवश्यक देखिएको छ। संस्थानका अनुसार क्याम्पस सार्न कीर्तिपुरमा १ सय ५० रोपनी जग्गा प्राप्त भएको छ।

‘कीर्तिपुरमा क्याम्पस सार्ने गुरुयोजना बनिसकेको छ,’ वज्राचार्यले भने, ‘पूर्वाधार निर्माण गरेर सार्छौं।’ संस्थानको आफ्नै बजेटले पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले स्थानान्तरण गर्न समय लाग्ने उनको भनाइ छ। ‘सरकार वा कुनै सहयोगी निकायले पूर्वाधार निर्माण गर्न सहयोग गरे छिटै सर्न सक्ने अवस्था पनि छ,’ उनले भने, ‘आफ्नै बजेटको मात्र भरे परे समय लाग्छ।’ कान्तिपुर दैनिकबाट ।

प्रकाशित मिति: आइतवार, कार्तिक ११, २०७५ /Sunday, October 28th, 2018, 8:38 am