सांस्कृतिक पर्वले नेपालीलाई एकतामा बाँधेको छः अध्यक्ष प्रचण्ड

काठमाडौँ, कात्तिक १० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांस्कृतिक पर्वले नेपालीलाई एकीकृत गर्दै आर्थिक समृद्धिको यात्रामा अगाडि बढ्ने प्रेरणा प्रदान गरेको बताएका छन् ।

नेकपाले विसं २०७५ को वडादशैँ, तिहार, नेपाल सम्वत् ११३९ नयाँ वर्ष, छठलगायतका चाडपर्वको अवसरमा आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल जातीय, भाषिक, धार्मिकरुपमा विविधतायुक्त देश रहेको र त्यसले एकताको सुत्रमा बाँधेको बताए ।

अध्यक्ष प्रचण्डले भने, ‘एकअर्काको संस्कृतिप्रति सम्मान, सहयोग, सद्भावना व्यक्त गर्ने हाम्रो मौलिक सांस्कृतिक विविधता रहेको छ । यसलाई नेपालीले गौरव गर्न सक्छन्, गौरवान्वित भएका छन् ।’

नेपाल जनसङ्ख्या र भौगोलिक सीमाले ठूलो नभए पनि बहुजाती, बहुभाषी, एवं बहुसांस्कृतिक विविधताले युक्त मुलुक रहेको र सबै जातजातीबीच सद्भावसमेत रहेको उल्लेख गरे ।

नेपाल राजनीतिकरुपमा नयाँ कालखण्डमा प्रवेश गरेको र समाजवादको नयाँ युगमा जाने भनेर संविधानमा नै लिपिबद्ध गरिएको भन्दै अध्यक्ष प्रचण्डले आर्थिक विकास र समृद्धिको यात्रा नै आफूहरुको कार्यभार रहेको बताए ।

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भई बनेको नेकपाले पहिलो पटक आयोजना गरेको चियापान कार्यक्रम देशभर नै आयोजना भइरहेको र त्यसले राजनीतिक सक्रियतासमेत बढाएको उल्लेख गरे ।

प्रदेश र स्थानीय तहमा पार्टी एकताको काम ढिलो भए पनि समाजमा राजनीतिक गतिविधि र कार्यक्रमलाई जीवन्तता प्रदान गरेको उनको भनाइ थियो ।

यसैबीच अध्यक्ष प्रचण्डसँग नेपाल भ्रमणमा रहनुभएका भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) का महासचिव सीताराम यचुरीले आज भेट गरेका छन् । भेटमा दुई देश र पार्टीबीचको सम्बन्धलाई अझै मजबुद बनाएर लैजाने विषयमा छलफल भएको थियो ।

प्रकाशित मिति: शनिबार, कार्तिक १०, २०७५ /Saturday, October 27th, 2018, 8:29 pm