विद्युतीय ‘चार्जिङ स्टेशन’ बनाउँदै, उपत्यकामा २० वटा स्टेशन बनाउने घोषणा

काठमाडौं, कात्तिक ९ । विद्युतीय सवारी साधनको प्रयोगमा बढावा दिने गरी सरकारले अगाडि सारेको कार्ययोजनालाई लागू गर्न नेपाल विद्युत् प्राधिकरणले देशभर नै ‘चार्जिङ स्टेशन’ निर्माण गर्ने प्रक्रिया अगाडि बढाउने भएको छ ।

सडक पुगेको देशभरका सबैजसो स्थानमा प्राधिकरणको वितरण प्रणाली पनि पुगेकाले प्रवद्र्धनात्मक रुपमा त्यस्ता स्टेशन निर्माण गर्न लागिएको हो । नेपाल इञ्जिनीयर्स एशोसिएशनले शुक्रबार आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधनको चार्जका लागि निकट भविश्यमा नै काठमाडौँ उपत्यकामा केही स्टेशन तयार गरिने बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन पहिले साझा यातायातले आयात गरेको विद्युतीय सवारीको उद्घाटन कार्यक्रममा प्राधिकरणले उपत्यकामा २० वटा स्टेशन बनाउने घोषणा गर्नुभएको थियो ।

‘चार्जिङ स्टेशन’ बनाउन समस्या नभए पनि के कति महशुल लिने, कसरी शुल्क लिने तथा के कति क्षमताका स्टेशन राख्ने भन्नेलगायतका विषयमा भने नीतिगत व्यवस्था गर्न बाँकी रहेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सो सम्बन्धमा आवश्यक तयारी गरिरहेको छ । एउटा बस चार्जका लागि कम्तीमा पनि ८० किलोवाट बराबरको विद्युत् आवश्यक पर्दछ । कार्यकारी निर्देशक घिसिङका अनुसार पेट्रोलपम्पजस्तै राजमार्गमा हरेक ३०र३० किलोमिटरमा र राजधानीमा पनि सहजरुपमा चार्ज गर्न मिल्ने गरी स्टेशन निर्माण गरिनु पर्दछ ।

प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्क र एनइए इञ्जिनीयरिङ कम्पनीको कार्यालय थापाथलीमा ‘चार्जिङ स्टेशन’ निर्माण भइसकेको छ । पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनभन्दा विद्युतीय सवारी साधनको खर्चसमेत कम हुने भएकाले पछिल्लो दिनमा संसारभर नै विद्युतीय सवारीतर्फ मानिसको आर्कषण बढेको छ ।

एशियाली विकास बैंकको सहयोगमा साझा यातायातले दुई वटा विद्युतीय सवारी साधन भित्र्याइसकेको छ भने थप तीनवटा आउने चरणमा रहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले समेत विद्युतीय सवारी साधन प्रयोग गर्न थाल्नुभएको छ ।

कार्यकारी निर्देशक घिसिङले कानूनी प्रबन्ध हुने बित्तिकै स्टेशनसमेत बन्ने र नेपालमा हरेक वर्ष विद्युतीय सवारी साधन चढ्नेको सङ्ख्यामा वृद्धि हुने बताउनुभयो ।

राजमार्गका क्षेत्रमा पनि सहजरुपमा ‘चार्जिङ स्टेशन’ राख्न सकिने भएकाले निजी क्षेत्रसमेत यसमा आर्कषित हुने उहाँको भनाइ छ । वातावरणीय संरक्षणका लागिसमेत पछिल्लो दिनमा विद्युतीय सवारी साधनमा आर्कषण बढ्दै गएको छ । रासस

प्रकाशित मिति: शुक्रबार, कार्तिक ९, २०७५ /Friday, October 26th, 2018, 8:28 pm