यस्तो रह्यो शुक्रबार गृहमन्त्री थापाको दैनिकी

काठमाडौं, कात्तिक ९ ।

गृहमन्त्री रामबहादुर थापाले कल्पनामा आधारित भएर कुनै पनि घटनाको अनुसन्धान नगर्न सचेत गराएका छन् । शुक्रबार
राष्ट्रिय अनुसन्धान विभागमा आज आयोजित कार्यक्रममा गृहमन्त्री थापाले जासुुुसी संयन्त्र बलियो भए मात्रै मुलुकले आर्थिक र सामाजिक विकास गर्ने बताए ।

अन्य सुरक्षा निकायलाई औंला र विभागलाई आँखाको संज्ञा दिँदै उनले विभागले वस्तुनिष्ठ सूचना, तथ्य र तथ्यांक संकलन गर्न आवश्यक रहेको बताए ।
कल्पनाको आधारमा योजना बनाउँदा असफल हुन्छ, बस्तुनिष्ट भएर अनुसन्धान गर्न म सचेत गराउन चाहन्छु, थापाले भने ।

देशमा बिभिन्न नाममा अस्थिरता निम्ताउन खोज्नेहरु सक्रिय भईरहेको भन्दै उनीहरुको समेत निगरानी बढाउन गृहमन्त्रीले निर्देशन दिए । अनुसन्धान विभागका प्रमुख निर्देशक दिलिप रेग्मीले राज्यको आवश्यकता र सोच अनुसार आफूहरु परिवर्तित भई काम गर्न तयार रहेको जानकारी गराए ।
यसैबीच गृहमन्त्री थापाले शुक्रबार नै त्रिभुवन विमानस्थलस्थित अध्यागमन विभागको अनुगमन गरेका छन् ।

गृहसचिव प्रेमकुमार राईसहितको अधिकारी लिएर पुगेका थापाले विमानस्थलस्थित अध्यागमन कार्यालय, भन्सार कार्यालय, प्रहरी कार्यालयको अनुगमन निरीक्षण गरे ।

अनुगमनका क्रममा उनले विदेशी नागरिक नेपाल प्रवेश गर्दा पहिलोपटक अध्यागमनसँग ठोक्किने भएकोले यो क्षेत्रमा सुधार अनिवार्य रहेको बताए ।

प्रकाशित मिति: शुक्रबार, कार्तिक ९, २०७५ /Friday, October 26th, 2018, 6:51 pm