नेकपा अध्यक्ष प्रचण्ड भारत प्रस्थान, आजै फर्कने

काठमाडौं, कात्तिक ९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज भारततर्फ प्रस्थान गरेका छन् ।

इन्डिया फाउन्डेशनले भारतको नयाँदिल्लीमा आयोजना गरेको कार्यक्रममा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् ।

दिल्ली जाने क्रममा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपाल र दक्षिण एसियाको विकासबारे आफूले धारणा राख्ने बताए ।

इन्डिया फाउन्डेसनले विचार आदानप्रदान कार्यक्रम पाँच वर्षदेखि गर्दै आएको र विगतमा पनि नेताहरु जाने प्रचलन अनुरुप नै आफू जान लागेको अध्यक्ष प्रचण्डको भनाइ छ ।

गत अगष्टमा दिवंगत भारतका पूर्वप्रधानमन्त्री अटल विहारी बाजपेयी नाममा सुरु गरेको ‘मेमोरियल लेक्चर’मा प्रचण्ड सहभागी हुनेछन् ।

उक्त कार्यक्रममा भारतीय अर्थमन्त्री अरुण जेट्ली र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि सम्बोधन गर्ने बताइएको छ ।

नयाँ दिल्लीमा केही घण्टा रहँदा कुनै राजनीतिक भेटघाट नहुने भन्दै उनले आजै नेपाल फर्कने बताए ।

उनको बिदाइका लागि महासचिव विष्णु पौडेल, नेताहरू अग्नि सापकोटा, दीनानाथ शर्मालगायत विमानस्थल पुगेका थिए ।

प्रकाशित मिति: शुक्रबार, कार्तिक ९, २०७५ /Friday, October 26th, 2018, 11:15 am