७७ वटा जिल्लामा प्रादेशिक जनस्वास्थ्य कार्यालय खुल्ने, पदपूर्तिका लागि विज्ञापन खुल्दै

काठमाडौ, कात्तिक ६ ।

सरकारले सबै जिल्लामा प्रादेशिक जनस्वास्थ्य कार्यालय स्थापना गर्ने भएको छ । स्वास्थ्य सेवाको पहुँचलाई अझ सर्वसुलभ बनाउन प्रदेश अन्तर्गतका सबै जिल्लामा रहने गरी प्रदेश जनस्वास्थ्य शाखा कार्यालयको प्रस्ताव गरिएको हो ।

अहिले मुलुकभर ७७ जिल्ला, ७ प्रदेश सरकार र ७५३ वटा स्थानीय तह रहेका छन । ती सबैलाइ समेट्ने गरि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रादेशिक जनस्वास्थ्य कार्यालय स्थापना प्रकृया अघि बढाएको छ । त्यसका लागि आवश्यक पर्ने कर्मचारी दरबन्दीको मस्यौदा समेत तयार पारेको मन्त्रालय स्रोतले जनाएको छ ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा सुशीलनाथ प्याकुरेल संयोजक रहेको संघीय व्यवस्थापन समितिले तयार पारेको मस्यौदामा सातवटै प्रदेशमा स्वास्थ्य प्रवर्द्धन तथा तालीम केन्द्र, स्वास्थ्य सामग्री तथा औषधि व्यवस्थापन केन्द्र र जनस्वास्थ्य प्रयोगशाला रहने व्यवस्था गरिएको छ।

ती निकायमा ११औँ तहको दरबन्दी रहने प्रस्ताव गरिएको छ। यसअघि बनाइएको संरचनामा सातवटा प्रदेशमा ३५ वटा मात्र प्रदेश स्वास्थ्य कार्यालय रहने व्यवस्था थियो। उक्त प्रावधानमा कर्मचारीबाट व्यापक गुनासो आउनाका साथै मन्त्रालयले समेत स्वास्थ्य सेवाको पहुँच पुर्‍याउन कठिन महशुस गरी सबै जिल्लामा प्रादेशिक जनस्वास्थ्य कार्यालयको प्रावधान अघि सारेको हो ।

यो कार्यान्वयन प्रक्रिया अघि बढेसङ्गै स्वास्थ्य सेवाका सबै कर्मचारीको व्यवस्थापन हुने संयोजक डा प्याकुरेलले दाबी गरे। स्वास्थ्य सेवातर्फका ११ औं तहका १३, ९ र १० ‌औं तहका ३२, सातौँ तहका करिब ४०० कर्मचारी जिम्मेवारीबिहीन रहेका बताइको छ।

प्रमुख विशेषज्ञ डा प्याकुरेलले भने, ‘नयाँ संरचनामा देखिएका केही प्राविधिक समस्यालाई सम्बोधन गरी दरवन्दीका लागि पनि मस्यौदा तयार पारिएको हो।’

मन्त्रालयले स्वास्थ्य सेवाको संघीयता कार्यान्वयनका लागि नयाँ संरचना साउन १ गतेदेखि लागू गरेको थियो। सो मस्यौदा बमोजिम अव सातवटै प्रदेश अन्तर्गत ७७ वटै जिल्लामा प्रादेशिक जनस्वास्थ्य कार्यालय रहनेछन्।

संघीय व्यवस्थापन समितिले स्थानीय तह, प्रदेश तथा संघको संरचना तथा दरवन्दी पुनरावलोकन समेत गरेको छ।

यसअघि जिल्ला जनस्वास्थ्य कार्यालयका एक हजार ३५६ स्वास्थ्य सेवाका कर्मचारी विभिन्न स्थानीय तहमा मिलान भएका थिए। नयाँ संरचनाको निर्णय हुने भएसङ्गै मन्त्रालयले छिट्टै पदपूर्ति दरबन्दी खुलाउने बताइएको छ ।

प्रकाशित मिति: मङ्लबार, कार्तिक ६, २०७५ /Tuesday, October 23rd, 2018, 2:02 pm