नेपालीहरूको महान चाड विजयादशमी

देवीदत्त पौडेल/नवरात्रिको दशौँ दिन नै विजयादशमी हो । यस दिनमा भगवान रामचन्द्रले रावणमाथि विजय प्राप्त गरेकाले यसलाई विजयादशमी भनिएको कथन छ ।

श्रवणर्क्षेण संयुक्ता दशमी शुक्लपक्षगा।।
ईषमासिस्थिता ज्ञेया विजया दशमी तिथिः।।

आज विजया दशमी, अर्थात टीका लगाउने दिन भएकाले मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरी देशभर हर्षोल्लासका साथ विजयादशमी मनाइँदै छ । आश्विन शुक्ल प्रतिपदामा घटस्थापनासहित जमरा राखी नवमीसम्म दुर्गा सप्तसती (चण्डी) पाठ गरी नवदुर्गा र शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा सहित प्रसादका रुपमा टीका जमरा ग्रहण गरिन्छ ।

लेखक: देवीदत्त पौडेल

सोह्र सामग्रीले भगवती दुर्गा अरू देवीहरू तथा देवताको पूजा गरी नौ दिनसम्म गरेको पूजाको काममा कुनै त्रुटि भयो कि भनेर यसलाई पुरा गर्न तामाको थालिमा चन्दनले अष्टदल लेखी त्यसका बिचमा माटाका देवीका तिन प्रतिमा वा राता अक्षतामा तीन थुप्रा राखी बिचमा अपराजिता देवी दाहिनेतिर जया देवी, देब्रेतिर विजया देवीको आह्वान र सोह्र सामग्रीले पूजा गरी हवन गरिन्छ । साथै जमरालाई पूजा गरी भगवती दुर्गा, अन्य देवीदेवताहरूलाई चढाई आरती र पुष्पाञ्जली समेत गरिन्छ ।

यति गर्नाले कसैले पनि आफू माथि दमन गर्न सक्दैन भन्ने धार्मिक विश्वास छ । त्यसमाथि चन्दन, अक्षता, फूल छर्कदै माफी माग्दै दुर्गा भगवती र अन्य देवीदेवीहरूलाई विसर्जन गरी उठाएर अन्यत्र राख्नुपर्दछ । मन्त्र –

आह्वानम् नजानामि, नजानामि विसर्जनम् ।’
पूजा चैव नजानामि क्षम्यता परमेश्वरी ।

यसपछि देवीका मुर्तिहरूलाई बाजागाजा या वैदिक मन्त्र पढी जलाशयमा लगेर सेलाई त्यसपछि घडाको जलले अभिषेक गरी देवीलाई चढाएको रातो अनि सेतो वस्त्रको कपडालाई प्रसादको रुपमा घाँटीमा लगाइन्छ । अनि घरका मुलमान्छेले भगवतीको प्रसाद स्वरुप अबिर र दहीमा मुछेका चामलका टीका निधारमा, जमरा टाउकोमा लगाई दक्षिणा दिई आशीर्वाद लिने वा दिने गरिन्छ ।

दसैँमा नवीन वस्त्र धारण गर्ने तथा आफ्नो क्षमता अनुसार मिठो कुरा खाने, घर आँगन तथा वस्ती सरसफाइ तथा रङ्गरोगन गर्ने प्रचलन पनि छ । दसैँ पर्वले काम, क्रोध, लोभ, मोह, अहङ्कार, आलस्य, हिंसा र चोरी आदि त्याग्ने सत्प्रेरणा दिने विश्वास गरिन्छ ।

यस दिनदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म परिवार नातेदारकहाँ तथा मान्यवरकहाँ दशैंका लागि तयार पारी राखिएको नयाँ लुगा लगाई टीका लगाउन जाने परम्परा रहेको छ । यस समयमा पुरूषलाई टीका लगाउँदा यसरी आशिष दिइन्छः

आयुद्रोणसुते श्रीयं दशरथे शत्रुक्षयं राधवे ।
ऐश्वर्य नहुषे गतिश्च पवने मानंच दुर्योधने ।।
दानं सूर्यसुते बलं हलधरे सत्यं च कुन्तीसुते ।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।

अर्थात् द्रणपुत्र अस्वत्थामाको जस्तो दीर्घायु, दशरथ राजाको जस्तो श्रीसम्पत्ति प्राप्त होस्, भगवान् रामको जस्तो शत्रु नाश हुन्, नहुष राजाको जस्तो ऐश्वर्य, पवनसुत हनुमानको जस्तो गतिशीलता, दुर्योधनको जस्तो मान, सूर्यपुत्र कर्णको जस्तो दानवीरता, हलधर बलरामको जस्तो बल, कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवादिता, विदुरको जस्तो ज्ञान र भगवान् नारायणको जस्तो कीर्ति तपाईंलाई प्राप्त होस् भनी मान्यजनबाट आशीर्वचन लिइन्छ ।

त्यसैगरी दशैँको टीका लगाउँदा स्त्रीलाई यसरी आशिष दिइन्छः

ॐ जयन्ती मङ्गला काली भद्रकाली कपालिनी
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमस्तुते ।
जय त्वं देवी चामुण्डे जय भूतार्तिहारिणी
जय सर्वगते देवी कालरात्रि नमस्तुते ।

अर्थात् ती देवी जसले सम्पूर्ण संसारलाईनै विजय गर्न सक्ने सार्मथ्य राख्दछिन् जो हरेक अन्धकारको निदान गर्न सक्दछिन् । समयको पाबन्दिभन्दा पर रहेकी ती देवी जो मानव खप्परको माला लगाउँदछिन् अनि हरेक प्रकारका दुखःको निदान गर्न सक्दछिन् । यो जगतको रक्षा गर्ने हे देवी१ यो तिम्रो भक्तले चढाएको भक्तिलाई स्वीकार गर, हामी तिमीलाई नमन गर्दछौं भनी मान्यवरबाट आशीर्वाद ग्रहण गरिन्छ ।

मानिसको मस्तिष्कमा रहेको विकारलाई हटाई पराक्रमी पुरुषार्थी भावको विकासका लागि टीका लगाइन्छ । मजिठोको रातो रङमा गाईको दूधको दहीले रंगाएको रातो, सेतो अक्षताको टीका लगाउनुपर्छ । रातो र सेतो शान्ति र समृद्धिको प्रतीक हो । टीकाले मन, मस्तिष्क, विचारलाई शुद्ध चेतनायुक्त बनाउँछ ।

यी शुभाशिषहरूमा भनिएझैँ हामीले सकारात्मक बाटो पछ्याउँदै उत्तरोत्तर प्रगति गर्न सकौं । सत्य बोल्न, सत्कर्म गर्न, आदर, सम्मान गर्न कहिले नचुकौं । सबै नेपालीलाई विजयादशमीको टीका जमरा र आशिषले जीवनमा उर्जा भरोस्, सफलताका आयामहरू थपिंदै जाऊन् ।

विजयादशमीको धेरै धेरै शुभकामना ।

प्रकाशित मिति: शुक्रबार, कार्तिक २, २०७५ /Friday, October 19th, 2018, 6:41 am